‘भारु कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्योलता छ’



कुमार श्रेष्ठ, बाँके
भारतले नेपालमा रहेका भारतीय पाँच सय र हजार दरको नोट व्यवस्थापनमा चासो नदेखाएपछि राष्ट्र बैंक अन्योलमा परेको छ। भारतमै पाँच र हजार दरका नोट प्रतिबन्ध लागेपछि राष्ट्र बैंकले नेपालमा रहेको यी नोट व्यवस्थापनका लागि रिजर्भ बैंक अफ इण्डियालाई पत्राचार गरेको थियो। तर, रिजर्भ बैंक अफ इण्डियाले ‘यसरी व्यवस्थापन गर्ने’ भनेर प्रष्ट नगरेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताउनुभयो।

पत्रको बेवास्ता भएपछि राष्ट्र बैंकले डेपुटी गभर्नरको नेतृत्वमा एउटा टोली पठाउने तयारी गरेको थियो। यो कुरा थाहा पाएपछि भारतले आफैंले एउटा टोली नेपालमा पठाउने अनौपचारिक जानकारी पठाएको छ।‘केही दिनमा भारतीय टोली नै नेपालमा आउँछ होला। त्यसपछि नेपालमा रहेका पाँच र हजार दरका भारु नोट व्यवस्थापनको कुरा हुन्छ,’ प्रवक्ता पौडेलले भन्नुभयो।

राष्ट्र बैंकले प्रत्येक वर्ष ६ अर्ब रुपियाँ भारु सटही गर्छ। त्यसमध्ये चालू आर्थिक वर्षमा दशैं ताका एक अर्ब ल्याएको थियो। प्रवक्ता पौडेलले राष्ट्र बैंकमा हजारका एक सय ५६ थान र पाँच सय पनि त्यस्तै रहेको जानकारी दिनुभयो। उहाँले अरू बैंकमा धेरै रहेको बताउनुभयो। जनतासँग कति छन् र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्योलता रहेको छ। प्रवक्ता पौडेलले भन्नुभयो–‘भारु या डलर काम पर्दा लिने र खर्च गरिहाल्नु पर्छ। त्यो घरमा राख्ने वस्तु होइनन्।’

नेपालमा भारतीय रुपियाँको माग पनि बढी छ। भारतमा भइरहेको लफडाले नेपालमा अझ समस्या थपेको छ। भारु मागकालाई पूर्ति गर्न सरकारले भारतसँग सयको एक अर्ब रुपियाँ माग गरेको छ। प्रवक्ता पौडेलका अनुसार, भारतले दिन्छु पनि भनेको छ। माघको दोस्रो हप्तासम्ममा नेपाली टोली गएर त्यो रकम ल्याउँछन्।’

भारतले राष्ट्र बैंकलाई वर्षेनी ६ अर्ब रुपियाँ दिन थालेको दशक भइसक्यो। यो भन्दा बढाउने अवस्था पनि छैन। नेपालगन्जका व्यापारी, बैंकिङ क्षेत्रका अधिकारीहरूसँगको छलफलमा राष्ट्र बैंकका प्रवक्ता पौडेलले ६ अर्बले नेपाललाई नपुगे पनि भारतले त्यही दिन पनि आनाकानी गरिरहेको जानकारी दिनुभयो।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र अगुवा व्यवसायी कन्हैयालाल बैद्यले भारतीय रुपियाँ बढाउनु पर्ने प्रश्न गर्दा प्रवक्ता पौडेलले नेपालले चाहेर मात्रै नहुने जवाफ दिनुभयो। भारत सरकारलाई नेपालमा धेरै पैसा कारोबार गर्दा ‘नक्कली’ पर्ने ठूलो डर रहेको छ। बेलाबेलामा भारतीय अधिकारीले यस विषयमा ध्यानाकर्षण पनि गराउने गरेको स्रोतले बताएको छ।

छलफलमा राष्ट्र बैंक नेपालगन्जका निर्देशक गुरूप्रसाद पौडेलले मध्यपश्चिममा बैंकहरूको अवस्था, लगानी र राष्ट्र बैंकले गरेका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्