पारस चौराहा धनगढीका कप्तान



नेपाल समाचारपत्र
काठमाडौं
आगामी चैत्र ५ गतेबाट सुरू हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ।
संयुक्त आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले बिहीबार एक कार्यक्रमबीच प्रतियोगितामा सहभागी हुने टिम, टिम मालिक र टिम कप्तान सार्वजनिक गरेको हो। प्रतियोगितामा सीवाईसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रूपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी गरी ६ टिमले सहभागिता जनाउनेछन्।
घोषणा गरिएअनुसार राजकुमार श्रेष्ठद्वारा सञ्चालन हुने टिम चौराहा धनगढीलाई राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गर्नेछन्। न्यु श्रृजनशील क्लबले सञ्चालन गर्ने टिम सीवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्। त्यस्तै महालक्ष्मी केबलद्वारा सञ्चालनमा रहने विराटनगर किङ्सको कप्तानी भूमिकामा शरद भेषवाकर बनेका छन्।

त्यस्तै एसआर समूहले सञ्चालन गर्ने रूपन्देही च्यालेन्जर्सको कप्तानीको जिम्मा शक्ति गौचनले लिए भने भने गोल्डनगेट इन्टरनेशनल कलेजको स्वामित्वमा रहने काठमाडौं गोल्डेन्सका कप्तानमा वसन्त रेग्मी रहनेछन्। सुदूरपश्चिम टिम कञ्चनपुर आइकोनिकका मुख्य सञ्चालक पिताम्बर जोशीले कप्तानीमा विनोद भण्डारीलाई छानेका छन्।

खेलाडी लिलामी प्रक्रियामा नगई मुख्य राष्ट्रिय खेलाडीहरूलाई सम्पूर्ण टिम सञ्चालकहरूको सहमतिमा गोलाप्रथाका माध्यमबाट टिममा राखिएको थियो। यस्तै प्रत्येक कप्तानले प्रतियोगितमा खेले बापत १ लाख ५० हजार नगद पारिश्रमिक पाउनेछन्। कप्तानबाहेकका खेलाडीहरूको हकमा भने तोकिएको न्यूनतम् रकममा बढाबढ गर्दै टिममा समावेश गरिनेछ। अन्य खेलाडी लिलामी प्रक्रिया भोलि शनिबार हुने आयोजकले जनायो।

कूल अनुमानित लागत १ करोड ६० लाख रहेको प्रतियोगिताका बिजेताले १५ लाख र उपबिजेताले ७ लाख रूपियाँ पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्