गरिबी नघट्नुको कारण



सर्लाही पिपरियाकी गुन्द्रदेवीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेको घटनालाई गरिबीसँग जोडेर पनि हेरिएको छ । यो घटनाबारे सार्वजनिक भएको समाचारअनुसार गरिबकोअनिश्चित भविष्य देखेर गुन्द्रदेवीले छोरीहरूलाई विष सेवन गराएर आपूmले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बिहान–बेलुकाको छाक टार्न नसक्दा, साहूको ऋण तिर्न नसक्दा, छिमेकीहरूको तुलनामा आफ्ना बालबच्चाको चाहना पूरा गर्न नसक्दा र सामाजिक प्रतिष्ठा एवम् मान–मर्यादाबाट वञ्चित गरिएकै कारण थुप्रै गरिबहरूले आत्महत्या गरेको घटना हाम्रो समाजमा अवश्य पनि नौलो होइन । हाम्रो समाजमा गरिबीकै कारण घरपरिवारमा दिनहुँझगडा हुने र विछोड हुने घटना पनि सामान्य नै छन् । सरकारी तथा गैरसरकारी तवरबाट समाजमा रहेको गरिबी न्यूनीकरणका लागि थुप्रै प्रयास भैरहेको छ । तर पनि गरिबीको प्रतिशत उस्तै छ ।

गरिबी न्यूनीकरणका सवालमा दाता राष्ट्रहरूबाट आएको रकमको भोलुम र विकासोन्मुख मुलुकमा रहेका गरिबहरूलाई तुलना गरेर हेर्ने हो भने त्यही पैसा बाँडिदिएको भए पनि गरिबी हटिसक्नुपर्ने हो तर गरिबी झन् बढिरहेको छ । यसो हुनुपछाडिका महत्वपूर्ण कारण हाम्रो समाजमा व्याप्त सामाजिक संचरनामा रुपान्तरण नुहुनु हो । जुन गरिबहरूको गरिबी हटाउनको लागि भनेर रकम ल्याइएको हुन्छ उनीहरूलाई त्यो रकम आफ्नो लागि ल्याइएको हो भनेर जानकारीसमेत हुँदैन र कति आएको छ भन्ने पनि थाहा हुँदैन ।

योजना तर्जुमा, कार्यान्वयन, अनुगमन मूल्यांकन, लाभांशको उपभोगजस्ता चरणहरूमा कसरी जाने भन्ने विषयमा गरिबलाई जानकारी नै हुँदैन । जे दिन्छन् सो हात थाप्नु नै आफ्नो कर्तव्य सम्झने हाम्रो सामाजिक परिपाटी विद्यमान छ । रकम ल्याउनुभन्दा अगाडि वास्तवमा के विषयलाई सम्बोधन गरियो भने गरबी हट्न सक्छ भनेर सम्बन्धित गरिबहरूसँग बसेर आवश्यकता पहिचानसमेत गरिँदैन । गरिबी न्यूनीकरणको अत्यधिक रकम व्यवस्थापन तथा अन्य खर्चहरूमा नै सकिने गर्दछ । आफ्नो नाममा आएको रकमको प्रतिफल प्राप्त गर्नु आफूहरूको अधिकार हो भन्ने गरिबहरूलाई जानकारी नै छैन ।

यसरी हेर्दा गरिबी नघट्नुका कारणहरूमा गरिबीको पहिचान नै नहुनु, कार्यक्रमको आवश्यकता पहिचान र योजना तर्जुमा गरिबको सहभागिताविना नै गर्नु, कार्यक्रमको सही अनुगमन र मूल्यांकन नहुनु प्रमुख हुन् । यसै गरी प्रतिफल गरिब केन्द्रित नुहुनु, आफ्नो लागि भनेर आएको विकासमा आफ्नो अधिकार हो भनेर गरिबलाई जानकारी नहुनु, विकासलाई कार्यक्रम सम्पन्न गर्ने प्रतिवेदनको रुपमा दाँजेर हेर्नु र खासगरी सरकार एवम् हाम्रो संरचनामा व्याप्त परम्परागत शैलीमा रुपान्तरण नहुनु पनि गरिबी नघट्नुका कारण हुन् । गरिबीको सवाललाई सही रुपमा सम्बोधन गर्ने हो भने गरिबीलाई हेर्ने दृष्टिकोणलाई केवल पैसासँग मात्र नजोडी समाजमा रहेको विभेदकारी नीति र सामाजिक चेतना, मान–मर्यादा, सामाजिक हैसियत तथा विद्यमान संरचनालाई समेत गहन तरिकाले हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्