महिला पत्रकारमाथि विभेद



सिन्धुली, (नेस) सिन्धुलीका पत्रकार महिलाहरूमाथि पद र तलबमा विभेद हुने गरेको गुनासो गरेका छन्। क्रियाशील पत्रकार महिलाले सिन्धुलीमा गरेको भेटघाट कार्यक्रममा सहभागीहरूले सिन्धुलीमा काम गर्ने महिला पत्रकारहरूलाई सञ्चारमाध्यमले जिम्मेवारी दिने सवालमा र तलबमा विभेद गर्ने गरेको गुनासो गरेका हुन्।

सिन्धुलीमा रहेका सञ्चारमध्यमहरूमा महिला पत्रकारहरू भए पनि तल्लो तहको मात्र जिम्मेवारी दिइएको, क्षेमताको कदर नगरिएको र तलबमा विभेद गरिएको सहभागीहरूले बताएका हुन्। क्रियाशील पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि अनुभव आदानप्रदान तथा अवस्था अवलोकन भ्रमण कार्यक्रमअन्र्तगत मंगलबार सिन्धुलीका पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा क्रियाशील पत्रकार महिला सिन्धुलीकी अध्यक्ष सुजता तामाङले सिन्धुलीका अधिकांश सञ्चार माध्यमहरूमा क्रियाशील महिला पत्रकार भए पनि पुरुषसरह जिम्मेवारी दिन सञ्चालकहरू घिचघिचाउने गरेको बताउनुभयो। अध्यक्ष तामाङले क्षमता भएका महिला पत्रकारहरूलाई पुरुषसरह जिम्मेवारी नदिई तल्लो तहको जिम्मेवारी मात्र दिने गरेको आरोप लगाउनुभयो।

कार्यक्रममा अन्य सहभागीहरूले महिला पत्रकारहरूलाई मात्र आवाजलाई प्रयोग गर्ने र अन्य क्षमताको कदर नगरिएको बताएका थिए। नेपाल पत्रकार महासंघमा महिला पत्रकारहरूलाई जिम्मेवारी दिन नसकेको, नेपाल पत्रकार महाँसघको अधिकांश अधिवशन मध्यरातमा हुने गरेकाले महिलाले सहभागिता जनाउन नसकेको गुनासो गरेका थिए।

कार्यक्रममा क्रियाशील पत्रकार महिला केन्द्रका सचिव चन्दा विष्टले इटहरीमा हुने १८ ओटा जिल्लाको पत्रकार महिलाहरूको भेलाले महिला पत्रकारमाथि भएको विभेद चुनौती र सम्भावनाहरूको बारेमा छलफल गर्ने बताउनुभयो। सिन्धुली धनुषालगायतका जिल्लाहरूमा अवस्था अवलोकन गर्दै इटहरीमा वृहत छलफल गर्ने जानकारी दिनुभयो।

क्रियाशील पत्रकार महिलाका केन्द्रीय अध्यक्ष सुवेच्छाविन्दु तुलाधारले क्रियाशील महिला पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सबै तह र तप्काबाट सहयोगको अवश्यकता औंल्याउनुभयो। अध्यक्ष तुलाधरले हरेक क्षेत्रको विकासका लागि महिला पुरुषको समान भूमिका हुने भन्दै क्षमताअनुसार महिला पत्रकारहरूलाई पनि विभेद नगर्न सबैलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्