कर्मचारीलाई “खर्च” बुझाउँदै काठ तस्करी



मोतीराम तिमल्सिना
काभ्रे

भूकम्पपीडितका नाममा खोलिएको पाँचखाल नगरपालिका–३ फेदी बजारमा रहेको उमादेवी फर्निचरले व्यवसायिकरूपमै काठको तस्करी गर्ने गरेको रहस्य खुलेको छ ।

जिल्ला वन कार्यालयले तोकेका अनुसन्धान अधिकृत ओमबहादुर ओलीले भने उक्त फर्निचरका प्रोपाइटर तेजप्रसाद न्यौपानेलाई काठ तस्करी गरेको स्रोत नखुलेको भन्दै राष्ट्रिय वन ऐनमा मुद्दा दर्ता गरेका छन् । जिल्ला वन कार्यालय काभ्रेको निर्देशनमा अनुसन्धान अधिकृत ओमबहादुर ओलीले न्यौपानेले वन फँडानी क्षेत्रको पहिचान नभएको र व्यक्तिसमेत पहिचान नभएको देखाउँदै राष्ट्रिय वन फँडानी नभएको अवस्थामा पनि सोही वन ऐनअनुसार मुद्दा तयार गरी अदालतमा पेस गरेका छन् ।

उनी आफैं इलाका वन कार्यालयका प्रमुख हुन् । जसको संरक्षणमा न्यौपाने वर्षाैंदेखि अवैध काम गर्न उत्साहित भएका थिए । न्यौपानेले देउपुरको सालठाँटीलगायतका क्षेत्रबाट दैनिक ट्रक र ट्रइक्टरमा राखेर ल्याएको काठ निजी आवादी क्षेत्रको हो । कसरी उनले व्यक्ति पहिचान हुन सक्दैन भन्दै नक्कली मुद्दा तयार गरे ? जिल्ला वन कार्यालय काभ्रेले किन उनकै संयोजकत्वमा अनुसन्धान गर्दै छ ? इलाका वन कार्यालयहरूको रेखदेख गर्ने सेल्टर वनका प्रमुख रामकुमार भण्डारी कहाँ छन् ? यत्रो वन फँडानी गर्दा यिनको काम के हो ? सुराकी कहाँ परिचालन गरिएको छ ? वन कार्यालयका कर्मचारीको काम के हो ? मिलेमत्तो सबैको भएकाले मुद्दालाई कमजोर बनाउन परिपञ्च गर्दै तस्करहरूलाई उन्मुक्तिको प्रयास गरिएको छ । १ लाख ८५ हजार बिगो देखाएर अदालतबाट धरौटीमा छुटाउने र पुनः तस्करीमा प्रश्रय दिने योजनाअनुरूप अनुसन्धान भएको भन्दै व्यवसायीसमेतले आपत्ति जनाएका छन् । व्यवसायीले त्यति ठूलो परिणाममा काठ कहाँबाट आयो ? त्यसको स्रोत के हो ? स्रोतबिना व्यवसायीले काठ कसरी बिक्री–वितरण गर्न सक्छ ? त्यसको बारेमा गहिरो अनुसन्धान गरी व्यवसायीलाई मात्रै गरिएको कारबाहीको निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

भूकम्पपीडितले हालसम्म काठका लागि कुनै सामुदायिक वन तथा जिल्ला वनमा समेत निवेदन नदिएकाले उक्त काठ तस्करीको भएको पुष्टि भएको छ । झन्डै ४० लाखको काठको सरकारी मूल्य १ लाख ८५ हजार तोकिएको छ ।

तस्करीलाई सहयोग पुग्ने गरी प्रहरीलाई समेत अवरोध गर्दै केही स्थानीयहरू आफ्नै काठ भएको दाबी गर्दै नारा जुलुसमा समेत उत्रिएका थिए । जिल्ला वन कार्यालय भन्छ– ‘उनीहरूलाई समेत हामी चिन्दैनौं ? जिल्ला वन कार्यालयको लापरबाहीका कारण सेल्टर वनकै सहयोगमा जिल्लाका अन्य सामुदायिक वन तथा आवादी क्षेत्रको वन फँडानी भई जिल्लाका विभिन्न फर्निचरहरूमा अवैध काठ ओसारपसार तथा बिक्री–वितरण भइरहेको छ । वन कार्यालयका प्रमुख प्रेमप्रसाद खनालले उक्त क्षेत्रका कर्मचारीहरूको निगरानी भइरहेको बताए । व्यवसायीले भने भूकम्पपीडितको काठ रहेछ र प्रमाणसहित आउँछन् भने उक्त काठ फिर्ता पठाएर अन्यलाई मुद्दा दर्ता गर्नुपर्ने बताएका छन् ।

प्रहरीले पुस १२ गते अनुगमनका क्रममा फेला परेको पाँचखाल नगरपालिका–३ फेदी बजारमा रहेको तेजप्रसाद न्यौपानेको उमादेवी फर्निचरमा थुपारिएको ५ सय २१ थान गोलिया काठ तस्करी गर्ने मुख्य अभियुक्तहरूलाई जिल्ला वन कार्यालयले उन्मुक्ति दिने गरी अनुसन्धान तयार गरी अदालतमा पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्