वीरमा चौबीसै घन्टा डायलासिस सेवा



काठमाडौँ, २० पुस । मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ ।

बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि २४ सै घन्टा बनाइएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि अहिले यसमा दोब्बरले वृद्धि भई दैनिक २८ जनाले यो सेवा पाउन सक्ने निर्देशक बस्नेतले बताउनुभयो ।

यो अस्पतालमा पच्चीस वर्षअघि डायलासिस सेवा सुरु भए पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता थियो, निर्देशक बस्नेतले भन्नुभयो, “स्वास्थ्यमन्त्री गगन थापाले देशभर डायलासिस सेवा बढाउने भनेपछि वीर अस्पतालले पनि बिरामीलाई थप सेवा दिन र सेवा नपाएर कसैले पनि फर्कन नपरोस् भनेर आइतबारदेखि २४ सै घन्टा यो सेवा सुरु गरिएको हो ।”

अहिले वीरमा हप्तामा नियमति रुपमा ४२ जनाले डायलासिस गराउँदै आएका छन् । यसै वर्षमात्रै सरकारले सम्पूर्ण डायलासिस सेवा पूर्णरुपमा निःशुल्क गरेको छ । देशभरका सरकारी र निजी गरी ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । सरकारी अस्पतालमा २४ सै घन्टा यो सेवा सुरु गर्ने वीर पहिलो अस्पताल हो । रासस

प्रतिक्रिया दिनुहोस्