तोकिएको मितिमा स्ववियु निर्वाचन हुने



काठमाडौँ, १९ पुस । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएको मितिमा जसरी पनि गराउनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले आज ‘अबको स्ववियु निर्वाचन’ विषयक बहस कार्यक्रममा उनीहरुले विगत ७ वर्षदेखि स्ववियु निर्वाचन नहँुदा विद्यार्थी आन्दोलनको धराशायी बन्दै गएकाले तोकिएको मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका हुन् ।

एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कोही जित्ने वा हार्नेभन्दा पनि विद्यार्थी आन्दोलन जोगाउनका लागि स्ववियु निर्वाचन आवश्यक भएको बताउनुभयो । उहाँले स्ववियु निर्वाचनमा जित्नेभन्दा हार्नेले लोकतन्त्र जोगाउने भएकाले निर्वाचन जसरी पनि गर्नुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको विद्यमान कानुन अवलम्बन गरेर होस् वा कानुन संशोधन गरेर भए पनि निर्वाचन गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले विद्यार्थी सङ्गठन यसपटक स्ववियु निर्वाचन गर्न तयार देखिएको निर्वाचन हुने बताउनुभयो । उहाँले आगामी फागनु १४ गते जसरी पनि निर्वाचन हुने बताउनुभयो ।

त्रिविले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरिसकेको छ । “गत वर्ष पनि हामीले निर्वाचन गर्न अभ्यास गरेका थियौँ । तर सम्भव भएन”, उहाँले भन्नुभयो–“यसपटक हामीले विद्यार्थी सङ्गठनसँग पटकपटक छलफल गरेका छौँ ।”

उहाँले निर्वाचनमा उमेर हद–बाधा नबन्ने भन्दै निर्वाचन प्रणालीका सन्दर्भमा भने सङ्गठन एकमत हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नबिना लामाले स्ववियु नहुँदा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएकाले जसरी पनि स्ववियु निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो सङ्गठन जित वा हार नभई स्ववियु निर्वाचन गर्न जस्तोसुकै परिणाम भोग्न पनि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका सहमहामन्त्री प्रेमराज जोशीले स्ववियु निर्वाचनको गराउने सुनिश्चिता भए आफ्नो सङ्गठनले उमेर र प्रणालीका बारेमा विवाद नगर्ने बताउनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले विद्यार्थी आन्दोलनको रक्षा गर्न स्ववियु निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा मधेसी विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले क्याम्पसको विद्यार्थीको हकहितको रक्षाका लागि स्ववियु निर्वाचन हुनुपर्ने बताउनुभयो ।

अनेरास्ववियुका सचिव सुदेश पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै अहिलेको स्ववियुको पुनः संरचना गरेर तोकिएको मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्