नारायणगढ–मुग्लिन सडकखण्ड थप आधा घन्टा बन्द



 

चितवन, १९ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्ने समाचार आएपछि स्थानीय प्रशासनले सडक अनुगमन गरी थप आधा घन्टा सडक रोकेर काम प्रभावकारी बनाउन १३ बुदे निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएपछि हरेक दिन बिहान १०ः३० देखि दिउँसो तीन बजेसम्म सडक बन्द गरेर काम गर्न निर्देशन दिइएको हो ।

यसअघि ११ देखि ३ बजेसम्म मात्र सडक बन्द गरेर काम गर्ने गरिन्थ्योे । त्यसैगरी अत्यावश्यकको नाममा धेरै सवारी साधन बन्दका समयमा समेत छोडिएकामा आजदेखि एम्बुलेन्स मात्र छाडिने भएको छ, जसका कारण कामका बेलामा अवरोध कम हुने भएको छ ।

रोकिएका सबारीसाधनलाई क्रमशः मोटरसाइकल, साना सवारी, बस, ट्रक र कम गतिका अन्य सवारीलाई प्राथमिकताका आधारमा छाडिने निर्णयसमेत प्रशासनले गरेकाले यात्रुबाहक सवारी साधन धेरै समय लाइनमा बस्नु नपर्ने भएको छ । ठूला कन्टेनरलाई रातको १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र चल्न दिइने भएको छ ।

यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड भित्र कुनै सवारी साधन बिग्रिएमा २० मिनेटभित्र हटाउन सम्बन्धित ठेकेदारलाई एक÷एक थान स्काभेटर र पावरटेलर राख्न लगाइएको छ । सडकमा खाल्डाखुल्डी र धुलो बढी उडेपछि नियमित पानी हाल्न र खाल्डाखुल्डी सम्याउन ठेकेदारलाई निर्देशन दिइएको छ ।

जीर्ण सडकमा दुर्घटना हुन सक्ने भएकाले ४० थान ट्राफिक सङ्केत र १० वटा घुम्तीमा कन्भेक्स लेन्स तत्काल जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्