हत्याको विरोधमा काम ठप्प



नेपाल समाचारपत्र
ताप्लेजुङ
ताप्लेजुङको खोक्लिङमा हत्या गरिएका वन कार्यालयका कर्मचारीको हत्यारालाई कारबाहीको माग गर्दै ताप्लेजुङका कर्मचारीहरूले सोमबार बिहान दुई घण्टा कार्यालयको काम ठप्प पारेका छन्। जिल्लामा रहेका विभिन्न पेसागत कर्मचारी संघ, संगठनको आह्वानमा बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पेन डाउन गर्दै कार्यालयको काम ठप्प पारेका हुन्।

हत्यापछि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, स्थानीय विकास कर्मचारी संगठन र गाविस सचिव हकहित केन्द्रले संयुक्त तथा फरक–फरक प्रेस विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकलाई राष्ट्रसेवक शहीद घोषणा गर्नुपर्ने, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षाको व्यवस्था गर्नुपर्ने मागसमेत राखेका छन्।
उनीहरूले सोमबार बिहान ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईलाई ज्ञापन–पत्र बुझाउँदै कर्मचारीलाई सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा दिन मागसमेत गरेका छन्। ज्ञापन–पत्र बुझाउँदै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालले उल्लेखित माग पूरा नगरे कडा आन्दोलनसमेत गर्न कर्मचारीहरू पछि नपर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्