संकटा क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलअन्तर्गत् सोमबार भएको खेलबाट काठमाडौंको संकटा क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।
भुटानको डु«कस्टार एफसीबिरुद्ध १–० को कठिन जित निकाल्दै संकटा अन्तिम आठमा प्रवेश गरेको हो । संकटाका लागि निर्णायक गोल अनिल गुरुङले गरेका हुन् । गुरुङले ८४ औं मिनेटमो गोल गरेका थिए । अभिषेक रिजालको रिबाउण्ड बललाई उनले पोष्टको दिशा दिएका हुन् ।

संकटाका प्रशिक्षक शैलेस कर्माचार्यले आफ्ना खेलाडीले सोचेजति खेल प्रस्तुत गर्न नसकेको प्रतिक्रिया दिए । डु«कस्टारका प्रशिक्षक कोता नाम्गेले भिसाका कारण २ मिडफिल्डर र २ जना फरवार्ड आउन नपाएको जानकारी दिँदै आफ्नो खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरे । पुस २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५ लाख र ३ लाख नगद प्राप्त गर्नेछन् ।

भोम्जनको स्मृतिमा पुरस्कार
गत वर्ष वैसाख १२ गतेको भूकम्पमा परी काठमाडौंमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । सञ्चार संघ नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जले नेपालमा पहिलोपटक खेलपत्रकार भोम्जनको सम्मानमा ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो ।

रेडियो निकास ९३.४ मेगाहर्जका अध्यक्ष सुनिल खड्काले पुरस्कार माघ २२ गते हुने रेडियो निकास र निकास साप्ताहिकको वार्षिकोत्सवको अवसरमा प्रदान गरिने बताए । पुरस्कारको राशि ५ हजार १ रुपियाँ र सम्मानपत्र छ ।

प्रतिक्रिया दिनुहोस्