अर्जुन–राधा फाउण्डेसनद्वारा एकलाखको अक्षय कोष स्थापना



(ज्ञानमणि नेपाल कालोटोपी) काभ्रे, १८ पुस ।
अर्जुन–राधा फाउण्डेसनद्वारा काभ्रे जिल्लाको चण्डेनी मण्डन–३ मा रहेको श्री विन्धबासिनी माविलाई विद्यार्थी छात्रवृत्ति तथा पत्रकार सम्मानका लागि रु. १ लाख रुपैयाँ प्रदान गरेको छ ।

विद्यालयको ३८ औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलनका बिच अर्जुन–राधा फाउण्डेसनका संस्थापक सुमन नेपालले रु. १ लाखको चेक  विन्धबासिनी माविका प्रधानाध्यापक अच्यूतप्रसाद नेपाललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै अर्जुन–राधा फाउण्डेसनका संस्थापक नेपालले आधुनिकता भित्रिएसँगै  आमाबाबु जिउँदो हुँदा राम्रो हेरचाह  नगर्ने तर देहान्तपछि विभिन्न नाममा खर्च गर्ने परम्परा तोड्दै आमाबाबुलाई नै साक्षी राखी आमाबाबुको नाममा छात्रवृत्ति तथा पत्रकारलाई सम्मान गर्न अक्षयकोष स्थापना गरिएको बताए ।

उनले श्री बिन्धबासिनीमा आफुले कखग सिकेको र सोही विद्यालयमा छात्रवृत्ति तथा पत्रकार सम्मानका लागि अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको बताएका थिए । फाउण्डेसनका संस्थापक नेपालले भविश्यका कर्णदार, मेहनती र जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति र आफुपनि श्रमजीवी पत्रकार भएकाले प्रत्येक वर्ष एकजना भएपनि पत्रकारलाई प्रोत्साहन स्वरुप सम्मान गर्न लागिएको बताएका थिए ।

विद्यालयका प्रधानाध्यापक अच्यूतप्रसाद नेपालले छात्रवृत्ति तथा पत्रकार सम्मानका लागि अक्षयकोष स्थापना गर्ने अर्जुन–राधा फाउण्डेसन र संस्थापक सुमन नेपाललाई धन्यवाद दिदै प्रत्येक वर्ष पुस १६ गते श्री विन्धबासिनीमा अध्ययनरत सिमान्तकृत, आदिवासी जनजाति, दलित तथा पिछडिएका वर्गलाई प्राथमिकता दिदै  रु. १०,०००।– (दस हजार) को “अर्जुन राधा छात्रवृत्ति” तथा काभ्रे जिल्लामा क्रियाशिल श्रमजीवी पत्रकार वा राष्ट्रिय रुपमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान पु¥याउने काभ्रेका एकजना पत्रकारलाई रु. ५,०००।– (पाँच हजार) नगदसहित “अर्जुन राधा विन्धबासिनी पत्रकारिता सम्मान” प्रदान गरिने जानकारी दिए । प्रअ नेपालले योे अक्षयकोष सायद मण्डन भेगकै पहिलो भएको बताएका थिए ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक सम्मेलनका वक्ताहरुले अर्जुन राधा फाउण्डेसन तथा संस्थापक सुमन नेपालको प्रसंशा गर्दै अहिलेका युवाहरुले यस्ता सकारात्मक कामको अनुसरण गर्न जरुरी रहेको बताएका थिए । अर्जुन राधा फाउण्डेसन संस्थापक सुमन नेपालका पिता अर्जुनबहादुर नेपाल तथा माता राधा नेपालले आफुहरुको नामबाट छोराहरुले सामाजिक काम गर्दा गर्व महशुस भएको बताएका थिए ।

२०३६ सालबाट अध्यापनमा लागेका शिक्षक अर्जुनबहादुर नेपाल हाल पनि सोही श्री विन्धबासिनी माविमा अध्यापनरत छन् । फाउण्डेसनका संस्थापक सुमन नेपाल विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् । नागरिक मिडिया क्लब नेपालका अध्यक्षसमेत रहेका  नेपाल, माउन्टेन टेलिभिजनबाट प्रसारण हुने “उद्यम र रोजगार” कार्यक्रमका निर्देशक तथा प्रस्तोता हुन् ।

प्रतिक्रिया दिनुहोस्