एनसीसी बैंकसहित पाँच वित्तीय संस्थाद्वारा एकीकृत कारोबार “वित्तीय संस्था सधैं जोखिममा बस्नु हुन्न”



????????????????????????????????????

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) मा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक गाभिएर आइतबारदेखि एकीकृत कारोबार शुरू गरेको छ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको नामबाट नै शुरू भएको एकीकृत कारोबार बैंकको बागबजारस्थित कर्पोरेट कार्यालयमा औपचारिक समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्नुभयो। सो अवसरमा गभर्नर नेपालले अबका दिनमा बैंकको पुँजी आधार बलियो भएकाले अब बैंकले पूर्वाधार र उत्पादनमुलक एवम् पर्यटन क्षेत्रमा लगानी गर्न र सञ्चालक, व्यवस्थापनलगायत सबैले बैंकिङ अनुशासन पूर्ण रुपमा पालना गर्न समेत आग्रह गर्नुभयो।

उहाँले सानो ढुंगाले हान्दा नै ढल्ने खालको संस्था राखेर सधैंभरी जोखिममा बस्न नहुने उल्लेख गर्दै भन्नुभयो–‘एउटा जलविद्युत् आयोजनामा लगानी गर्न ५⁄६ वटा बैंक मिल्नुपर्ने अवस्था छ। पुँजी नपुगेर समस्यामा पर्ने अवस्था छ। यसलाई व्यवस्थित गर्नलाई धेरै नै मूल्यांकन गरेर पुँजी बढाउनु परेको हो।’ अहिले २० खर्ब ९६ अर्ब रुपियाँ निक्षेपमध्ये कर्जा लगानी २० खर्ब रुपियाँ नाघेको जानकारी दिँदै उहाँले २ अर्बको बैंकले २१ खर्ब रुपियाँको निक्षेप थेग्न सक्छ ? यो विचारणीय पक्ष रहेको गभर्नर नेपाललको भनाइ थियो।

उहाँले नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्ला निर्देशनका कारण समस्याग्रस्त बैंक तथा वित्तीय संस्थामा थप लगानी गर्नका लागि व्यवसायी एवम् गैरआवासीय नेपालीबाट सोधपुछका लागि आउने गरेको बताउँदै भन्नुभयो–‘अहिले मुलुकको मुद्रस्फीतिदर एकल अंकमा रहनु एवम् अन्य आर्थिक परिसूचकहरू पनि सकारात्मक बन्दै गएकाले पनि मुलुकमा लगानी बढ्दै गएको छ।’

उक्त कार्यक्रममा एनसीसी बैंक व्यवस्थापन समितिका संयोजकसमेत रहनु भएका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बैंक तथा वित्तीय संस्थामा समस्या पर्दा केन्द्रीय बैंकको उपस्थितिले कुनै पनि बैंकले पुनः व्यवस्थापकीय दक्षता हासिल गर्न सक्छ भन्ने उदाहरण एनसीसी बैंक रहेको बताउनुभयो। त्यस्तै एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंक आउँदो वर्ष नेपालको प्रमुख पाँच कमर्सियल बैंकको रुपमा पुर्याउने लक्ष्यका साथ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रममा संयुक्त मर्जर समितिका संयोजक ईश्वरीप्रसाद नेउपाने, सांसद् मोहनबहादुर बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो।

त्यसैगरी मर्ज भएका विकास बैंकहरूका तर्फबाट एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धितालले मर्जर गर्दाको अनुभव बताउनु भएको थियो। पाँचवटै बैंकहरूले मर्जरका निमित्त सहमतिपत्रमा २०७२ मंसिर ११ गते हस्ताक्षर गरी नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन दिएका थिए। नेपाल राष्ट्र बैंकबाट २०७२ चैत ३ गते मर्जरका निमित्त सैद्धान्तिक सहमति प्राप्त भए पश्चात् सबै संस्थाले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर सम्बन्धी प्रस्ताव आ–आफ्ना वार्षिक साधारण सभाबाट पारित गराएका थिए। यी प्रक्रिया पूरा गरे पश्चात मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन पेस गरी राष्ट्र बैंकबाट २०७३ मंसिर २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७३ पुस १४ गते सो सम्बन्धी स्वीकृति प्राप्त गरेका थिए।

मर्जर पश्चात यस बैंकको नाम नेपाल क्रेडिट एन्ड कमर्स बैंक नै रहनेछ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा आफ्नो व्यवसायलाई निरन्तरता दिनेछ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७३⁄७४ सम्ममा न्यूनतम पुँजी ८ अर्ब रुपियाँ पुर्याउनुपर्ने निर्देशनको पालना गर्ने सम्बन्धमा बैंकले मर्जरलाई आधार बनाउन सकिने योजना सार्वजनिक गरे बमोजिम मर्जरको पहल गरिएको थियो। मर्जरबाट एकीकृत संस्था नेपाल क्रेडिट एन्ड कमर्स बैंकको कुल चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपियाँ पुग्नेछ भने बैंकको निक्षेप ५५ अर्ब र कर्जा रकम ४८ अर्ब रुपियाँ पुग्नेछ। त्यस्तै शाखा सञ्जाल ९६ तथा १०२६ जना कर्मचारी रहनेछन्। शेयर अनुपात मिलान पश्चात बैंकको पँुजीगत जगेडा कोषमा ९८ करोड रुपियाँ जम्मा हुनेछ।

उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा बन्ने तदर्थ सञ्चालक समितिमा संस्थापक शेयर समूहबाट मोहन बहादुर बस्नेत, इमानसिंह लामा, माधवप्रसाद भट्ट, विष्णुप्रसाद धिताल र सर्वसाधारण शेयर समूहबाट चन्द्रप्रसाद बास्तोला, उपेन्द्रकेशरी न्यौपाने, कैलाश पतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ रहनु हुनेछ। व्यावसायिक सञ्चालक पछि नियुक्त गरिने तथा बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहनुभएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्