‘सहकारीलाई नियन्त्रण हुँदैन’



काठमाडौं, (नेस)
सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर प्रस्तावित सहकारी ऐन आउने सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताउनुभएको छ। राष्ट्रिय सहकारी संघको काठमाडौंमा भएको २४औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थानी सहकारीलाई खुम्चियाउने उद्धेश्यले ऐन नआउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘निरकुंशताविरुद्ध लडेको व्यक्ति हँु, नियन्त्रण गर्नुहुन्न भन्ने मान्यता राख्छु। त्यसैले म सहकारी मन्त्री हुँदासम्म नियन्त्रण गर्ने उद्धेश्यले ऐन आउँदैन,’ उहाँले भन्नुभयो। विगतका गल्ती र कमजोर नदोहोरियोस् भनेर प्रस्तावित ऐन ल्याउने तयारी भइरहेको उहाँले दाबी गर्नुभयो। गाँस काटेर जनताले बचाएको पैसा तथा पुँजी संरक्षण गर्नु आफ्नो एक मात्र लक्ष्य रहेको उहाँले बताउनुभयो। सहकारीमा कर घटाउनुपर्ने माग आइरहेको सन्र्दभलाई समेत मन्त्रालयले चासो व्यक्त गरेको उहाँको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष तथा सांसद केशव प्रसाद बडालले सरकारका स्थानीयदेखि राष्ट्रियस्तरका निकायले सहकारीको कार्यशैलीलाई अपनाउनुपर्ने कुरामा जोड दिँदै क्षमतावान सहकारी संघ निर्माण गर्नका लागि सबै सहकारीकर्मीले योगदान दिनुपर्नेमा जोड दिनुभयो। बडालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी आन्दोलन नयाँ गतिमा अगाडि बढेको जिकिर गर्दै राज्य नियन्त्रण होइन प्रवद्र्धन गर्नुपर्ने कानुनको व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले सहकारी लगानी बोर्ड स्थापना हुनुपर्ने धारणा राख्नुभयो।

संघको २४औं साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा संयोजक धर्मदत्त देवकोटाले प्रस्तुत गरेको लेखा प्रतिवेदनलगायतका एजेन्डा पास गरेको थियो। संघले आगामी दिनमा सहकारी संघ⁄संस्थाको कारोबारमा हुने जोखिमलाई न्यूनीकरण गर्न सुरक्षणम् कोष र सहकारी कर्जा सूचना केन्द्रको स्थापनका लागि पहल गर्ने, सहकारीलाई सहुलियतपूर्ण कर व्यवस्था समावेश गर्ने पहल गर्ने, सहकारी आवास निर्देशिका तर्जुमा गर्न पहल गर्ने, अन्तर्राष्ट्रिय सहकारी संघ⁄संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने कार्यक्रम रहेको छ।

साधारण सभामा पूर्वमन्त्री तथा सांसद राजेन्द्र प्रसाद पाण्डे, सांसद पशुपति चौलागाई, सांसद ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, रजिष्ट्रार केशवप्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, पूर्वमन्त्री दीपक प्रकाश बाँस्कोटा, पूर्वसांसद केशव नेपाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेललगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्