टेलिकमको फोरजी सेवा शुरू



????????????????????????????????????

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवाको शुरूआत गरेको छ। आइतबार आयोजित एक समारोहका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले उक्त सेवाको लोगो अनावरण गरी यो सेवाको शुरूआत गर्नुभयो।

उक्त अवसरमा मन्त्री कार्कीले सूचना प्रविधिमा भएको विकासमार्फत सूचना क्रान्तिका लागि तयार रहनुपर्ने आवश्यकतामा जोड दिँदै यसका लागि फोरजी सेवाले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँ–गाउँमा ब्रोडब्यान्डमार्फत सेवा दिन नेपाल टेलिकम मात्र सक्षम भएको बताउँदै यसले दैनिक जीवनलाई सहज बनाउनसमेत सघाउ पुर्याउने बताउनुभयो।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिस्पर्धी बजारमा प्रविधिमैत्री बन्नु आवश्यक भएको बताउँदै फोरजी सेवाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री बनाउनसमेत सहयोग पुग्ने बताउनुभयो। सरकारले सूचना प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्न थालेको र यसलाई यस सेवाले सघाउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सेवा शुरुआत गर्न ३ महिनाको समय सीमा दिएकोमा नेपाल टेलिकमले समयमै यो कार्य सम्पन्न गरेकोमा बधाई दिँदै आगामी दिनमा समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी दिनमा फोरजीको कभरेजलाई बढाउन सकेमा डिजिटल डिभाइड कम हुने र ग्रामीण क्षेत्रमा समेत विभिन्न क्रियाकलाप गर्न सघाउ पुग्ने भएकाले प्राधिकरणले यसका लागि ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी विभिन्न कार्य गर्ने योजना बनाएको बताउनुभयो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको विश्व मानचित्रमा समावेश हुने अवसर पाएकोमा गौरव महशुस भएको बताउँदै यसबाट नेपाल टेलिकमले सेवाग्राहीको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रथम चरणमा काठमाडौं र पोखरा उपत्यकाका सेवाग्राहीको लागि पिक डाटा रेट ३२ दशमलब ४ एमबीपीएस डाउनलोड स्पिड प्रदान गर्न सक्ने नेटवर्क सञ्चालनमा ल्याएको र देशको सम्पूर्ण भू–भागमा यो सेवा क्रमिक रुपमा थप हाई स्पिड डाटाको रुपमा पुर्याउने लक्ष्यका साथ गृहकार्य अघि बढिसकेको जानकारी गराउनुभयो। उहाँले नेपाल टेलिकमको फोरजी सेवा पनि अन्य सेवाजस्तै ग्राहकको पहिलो रोजाई बन्ने र नेपाली जनताको अपार माया प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक अशोक कुमार थापाले काठमाडौं उपत्यका तथा पोखरामा फोरजी सेवा सञ्चालन गर्न विद्यमान साइट तथा नेटवर्कमा केही अपग्रेड गरी छोटो समयभित्र सेवा सञ्चालनका लागि आपूर्तिकर्ता कम्पनी हुवावे टेक्नोलोजीसँग सम्झौता सम्पन्न भई आयोजना कार्यान्वयन भएको बताउनुभयो। हाल एकपटकमा झण्डै ३ लाख ५० हजार ग्राहक समेट्न सकिने जानकारी दिँदै उहाँले आगामी दिनमा कम्पनीको सवल वित्तीय अवस्थाको सुनिश्चित गराउनसमेत यो सेवानै प्रमुख आधार बन्ने विश्वास ब्यक्त गर्नुभयो।

हाललाई जीएसएम पोष्टपेड मोबाइलमा मात्र यो सेवा उपलब्ध हुनेछ। यसका लागि सेवाग्राहीले स्ट्रिक ४४४ ह्यास डायल गरी रजिस्टर गर्न सकिन्छ। सन् २०१७ जनवरीभित्र यो सेवाको लागि रजिस्टर गर्ने जीएसएम पोष्टपेड सेवाग्राहीलाई चार जिबी प्रमोस्नल प्याकेजको रुपमा प्रतिदिन एक जिबी डाटाको दरले ४ दिनको लागि चार जिबी निःशुल्क प्रदान गर्न कम्पनीले जनाएको छ। उक्त सुविधा उपभोग गरिसकेपछि अन्य विभिन्न डाटा प्याकेज खरिद नगरेको अवस्थामा विद्यमान डाटा महशुल दर एक रुपियाँ प्रतिएमबी लाग्ने कम्पनीले जनाएको छ। साथै हाल जीएसएम पोष्टपेट मोबाइल सेवाग्राहीलाई उपलब्ध रहेका विभिन्न डाटा प्याकेज लिई फोरजी सेवा उपभोग गर्न सकिने कम्पनीले जनाएको छ।

आइतबार नै पोखरामा समेत एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ भयो। नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक सिद्धप्रताप भारतीले काठमाडौंमा गरिएको शुभारम्भ समारोहलाई फोरजी नेटवर्कमार्फत युट्व भिडियो देखाएर यसको शुभारम्भ गर्नुभएको थियो।

५० एमबीका लागि ३५ रुपियाँमा १० दिनको भ्यालिडिटी, २०० एमबीको एकसय ३० रुपियाँमा एक महिना, पाँच सय एमबीको तीनसय रुपियाँ र एकमहिना, एक जीबीको पाँचसय र एकमहिना, ३ जीबीको १२ सय ९० रुपियाँ र दुई महिना, पाँच जीबीको १८ सय रुपियाँ र तीनमहिना तथा १० जिबीको २८ सय रुपियाँ ६ महिनाको भ्यालिडिटी पाउने टेलिकमले जनाएको छ। प्रिपेड ग्राहकलाई पनि छिट्टै यो सेवा शुरू गरिने टेलकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्