कुपोषण भएका औषधी खाँदाखाँदै हराउँछन्



सन्तोष अधिकारी, गोरखा
जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाको तथ्यांकअनुसार हाल जिल्लामा ९ सय ३३ जनालाई कुपोषण भएको पाइएको छ। कुपोषण भएकाहरू पहिलोपटक स्वास्थ्य संस्थाको सम्पर्कमा रहेकाहरू उपचार गराउँदागराउँदै हराउने पनि गरेका छन्। विशेष गरी बालबालिका तथा सुत्केरी र गर्भवती महिलाहरू कुपोषणको शिकार भएको पाइएको जिल्लाम जनस्वास्थ्य कार्यालय गोरखाका नवराज खड्काले बताए।

स्वास्थ्य संस्थाको सम्पर्कमा आएर कुपोषण भएको पत्ता लागेको केही समय पोसिलो थप खाना लिने र केही समय औषधी सेवन गरेपछि स्वास्थ्य संस्थामा सम्पर्क नआउनेहरूको संख्या बढेको हो। जिल्लामा अतिशीघ्र कुपोषण र मध्यम शीघ्र कुपोषण हुनेको संख्या बढेको हो।

‘गोरखा जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा धेरै कुपोषण छ’, खड्काले भने– ‘अति शीघ्र कुपोषण हुनेहरूमा पनि बालबालिका धेरै छन्। जिल्लामा ४३ जनालाई अति शीघ्र कुपोषण रोग लागेको छ। कुपोषण मात्र हुने भने ९ सय ३३ जना छन्।’ अति शीघ्र तथा कडा खालको कुपोषण हुने ४३ जनामध्ये २५ जनाले पहिलोपटक स्वास्थ्य जाँच गराएर थप उपचार नगरेको जिल्ला जनास्वास्थ्य कार्यालय गोरखाको तथ्यांकमा उल्लेख छ।

केही समयअघि एनट्यागले गरेको सर्वेक्षणमा अति शीघ्र कुपोषण भने ६९ जना बालबालिकामा पाइएको थियो। अति शीघ्र कुपोषण भएकामध्ये २७ जना पूर्ण तन्दुरुस्त भए भने १३ जना औषधी तथा पोसिलो थप खाना खाँदाखाँदै स्वास्थ्य कार्यालयको सम्पर्कभन्दा बाहिर गए। उनीहरू अहिले पनि कुपोषित नै रहेका छन्।
कुपोषण भएकाले कम्तीमा ४२ दिन पोसिलो थप खाना खानुपर्ने, पाखुराको नाप जाँच गरिराख्नुपर्ने, अन्तिम दुई पटक तौल लिँदा तौल वृद्धि हुनुपर्ने, कुपोषणकै कारणले शरीर सुन्निने, हेर्दा फुर्तिलो र स्वस्थ भए मात्र कुपोषण छैन भन्ने नगरी स्वास्थ्य कार्यालयको नियमित सम्पर्कमा रहने गरे कुपोषणबाट बच्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ।

औषधी सेवन तथा पोसिलो खाना खाँदा खाँदै स्वास्थ्य संस्थाको सम्पर्कबाहिर रहेका सुत्केरी तथा गर्भवतीको संख्या पनि धेरै रहेको पाइएको छ। बालबालिकालाई पर्याप्त पोसिलो खाना नदिएकै कारणले पनि उनीहरूमा कुपोषणले आक्रमण गरेको खड्काले जानकारी दिए। स्वास्थ्य कार्यालयले कुपोषणको दर घटाउन जिल्लाभर कार्यरत स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वास्थ्य स्वयंसेविकालगायतलाई पनि विभिन्न तालिम दिएको छ। कुपोषणको दर घटाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको अग्रसरताले मात्र परिणाम देखिने स्वास्थ्य कार्यालयको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्