अदुवाखेती अर्घाखाँची बासीका आम्दानीको बलियो श्रोत बन्दै



(शोभाखर पन्थी)/ अर्घाखाँची, १७ पुस ।

अर्घाखाँचीका बासीन्दाको बलियो आम्दानीको श्रोत बनेको छ अदुवाखेती । जिल्लाको सबै ठाउँमा उत्पादन हुने अदुवा पछिल्लो समय यहाँका किसानको दैनिक जिबीको पार्जनको आधार बन्दै गएको छ ।

आनालागि ठिक्क उब्जनी गरेर बचेको मात्रै बेच्ने गरेका कृषकहरु केही बर्षयता व्यवसायिक रुपमै अदुवा खेतीगर्न थालेका छन् । तैपनि यहाँ अहिले गाउँदेखि शहर सम्मका पसलमा चाहेको बेला अदुवा किन्न सजिलै पाइँदैन ।

जुकेनाका मदन बेल्वासे वर्षेनी दुई÷तीन रोपनी बारीमा अदुवा खेती गर्छन् । उत्पादन राम्रै हुन्छ । आम्दानी पनि उस्तै । जति उत्पादन गरेपनि घरबाटै बिक्री हुन्छ । बँचेको ठाडा अमराइ बजारमा लैजान्छन् । ‘बिक्री गरेको पसलमा तीन महिनापछि किन्न जाँदा पाइदैन,’ उनले भने, ‘पहाडको अदुवा मिठो र स्वादिलो मान्दै कपिलवस्तु, रुपन्देही र भारतसम्म पुग्छ ।’ बोटमै रोग लागेर नष्ट हुँदा पनि उनले हार खादैनन् । ‘रोपे जति सबै कहाँ उत्पादन हुँदैन,’ उनले भने, ‘कहिले गानो कुहिन्छ त कहिले रोग लाग्छ । तर, घाटा लाग्दैन ।’ उत्पादन भएको बेलामा त जताततै पाइन्छ ।

अफसिजनमा अदुवाको अभाव नै हुन्छ । त्यसैले बाह्रै महिना सबैका भान्सामा अदुवा प्रशस्त नभएको उनले दावी गरे । जाडोको बेला बजारमा माग धेरै हुन्छ । वर्षेनी दुई लाख रुपैयाँको आम्दानीले घरखर्च र छोराछोरी पढाउन घर छाडेर कतै जान नपरेको उनले बताए ।

ठाडाकी सिता विकले एक रोपनीमा उत्पादित अदुवा बिक्री गर्ने सोच छैन् । ‘सबै जोगाएर बिउ राख्छु,’ उनले भनिन, ‘बजारमा बिउ किन्न पाइदैन । नबेची राखेपछि अर्काे वर्ष सजिलो हुन्छ । धेरै खेती गरेपछि उत्पादन धेरै हुन्छ । पैसाको पनि अभाव हु“दैन ।’ त्यति धेरै दुःख गर्नु पर्दैन् । लगाइदिएर रेखदेख गरे फलिहाल्छ ।

‘दुई÷चार रोपनी जग्गामा खेती गर्दा वर्षभरी चामल, नुनतेल, छोराछोरीलाई कापी कलम,लत्ता कपडा लाई खर्च पुगे हुन्छ,’ मरेङका विष्णु आचार्यले भने, ‘अन्न, तरकारी बाली जत्तिको परिश्रम, लगानी र समय चा“हिदैन । चार रोपनीमा खेती गरेको छु । वर्षमा दुई देखि तीन लाख आम्दानीले पैसा कमाउन विकल्प खोज्न परेको छैन ।’ यसैलाई विस्तार गर्दै लैजान्छु । विदेश गएर र अन्य पेशा व्यावसाय गरेर पैसा कमाएपछि धेरैले खेतीबारी यत्तिकै छाडेर शहरमा बसाई सरेका छन् । तर, म गाउ“मै बस्छु पाखोबारीमा अदुवा खेती गर्छु, उनले भने ।

घरमा पुग्ने जति बावुबाजेका पाला देखी बारीको छेउ, कुनामा दुईचार बोट त हुन्थ्यो । उत्पादन गर्न नसक्नेले खान नपाउँदा बजार माग बढ्यो । त्यसैले अदुवा खेती गर्न मन लाग्यो । कहिले काँही बजार भाउ तलमाथि हुन्छ । बेच्न गाह्रो भो भने कसरी तह लगाउने भन्ने उपाय पनि छ । लागत नउठ्न पनि सक्छ त्यतिबेला घरेलु मेसिनबाट सुँठो बनाएर बजारमा लैजाँदा सजिलै बिक्री हुने उनले अनुभव सुनाए ।

गोखुंङकी तिला घर्तीमगरको पाँच जनाको परिवार त्यहि भिरालो बारीमा उब्जनी हुने अदुवाले पालेको छ । गाउँका किसानलाई मोटरगाडी चढनुछैन । ठुला होटलमा पार्टी र डिस्को, दोहोरीसँझमा जानु छैन् । खर्च यति भए पुग्छ । उत्पादन भएको मकै, कोदो, गहुँ लगायत अन्नवालीले नपुग्दा दुई÷तीन बोरा चामल, नुनतेल, चिनी लगायत एक दुई जोर कपडा र केटाकेटीलाई पढाउन पुगे भयो, त्यो खर्च अदुवा बेचेर पुगेको छ, उनले सुनाइन् । अदुवा बेच्न रतनमारे, सिमेदेउराली र सन्धिखर्कसम्म आफुै लैजान्छिन् । ‘एकैचोटी बेचेर भ्याउनुछैन,’ उनले भनिन, ‘घरमा राखेर आफै बेच्छु ।

व्यापारीले भाउ बिग्रादिन्छन दिँदैन् । वर्षको ७० हजार सम्मको आम्दानीले मेरो श्रीमान घरमै भुलेका छन ।’ जीविका चलाउने गरिब परिवारलाई अदुवाले जीवन बदलिदिएको छ । गरिब परिवारलाई पेन्सन जस्तै बनेको छ अदुवा । जिल्लाको ठाडा, जुकेना, जलुके, गोखुंगा, पोखराथोक, पटैटी, मरेङ, सिमलपानी लगायतका गाविसमा अदुवा उत्पादन राम्रो हुन्छ । कृषकले अदुवा प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुने गरेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलका अनुसार गत आर्थिक वर्ष  मा ३ सय ९५ हेक्टरमा लगाइएको अदुवा ३ हजार ९ सय २० मेट्रिकटन उत्पान भयो । जसबाट करिब १७ करोड रुपैया“को उत्पादन भएको थियो । त्यसमध्ये १५ करोड रुपैया“ जतिको जिल्ला बाहिर निर्यात भएको उनले बताए । अदुवाखेती जिल्लाभर गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्