हामीलाई भोट बैंकमात्रै बनाए, हाम्रो उत्थानमा चासो देखाएनः किसान समुदाय



बिर्तामोड, १७ पुस । झापामा मात्र बसोवास रहेको लोपोन्मुख समुदाय किसानले राजनीतिक परिवर्तनका खातिर दलहरुलाई सहयोग गरे ।
उनीहरु त्यसरी सहयोग गरेकामा केही नपाएको दुःखेसो पोख्छन् । “हामीलाई राजनीतिक दलहरुले भोट बैङ्क मात्र बनाए,” किसान समुदायका एक अगुवाले भन्नुभयो, “तर समुदायको उत्थानका लागि कुनै पनि दलले चासो नदेखाउँदा दुःख लागेको छ ।”

झापाका मेचीनगर, बाहुनडाँगी, शान्तिनगर, धाइजन, बुट्टाबारीलगायत ठाउँमा बसोवास रहेको सो जाति लोपोन्मुख समुदायमा सूचीकृत छ । राज्यले लोप हुन लागेको जाति भनेर मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यही पैसाले उनीहरुले आफ्नो जीविका चलाउँदै आएका छन् ।
राजनीतिमा यिनीहरुको खासै रुचि छैन । राजनीतिक चेतनाको अभावले किसान समुदायको उत्थान हुन नसकेको उनीहरुको बुझाइ छ ।

चुनावका बेला मात्र पुग्ने राजनीतिक पार्टीका नेता अरु बेला यो समुदायको खोजीनीति नै गर्दैनन् । ‘हाम्रो सोझोपनको फाइदा उठाउने काम मात्र भएको छ,’ किसान समुदाय प्रतिष्ठानका अध्यक्ष कहरु किसानले भन्नुभयो– “के गर्नू, हामी पढेलेखेका परेनौँ ।”

विसं २०६८ को जनगणनानुसार किसान समुदायको जनसङ्ख्या एक हजार नौ सय छ । त्यसमा तीनदेखि चार जनाले मात्र राजनीति तथा सामाजिक गतिविधिबारे केही बुझेका छन् । स्थानीयस्तरमा हुने कार्यक्रममा जाने गरेकाले बाहिरी कुरा थाहा पाउने गरेको समुदायका अगुवा जोगी किसान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “हाम्रा अहिलेका पुस्ताले त केही बुझेका छैनन् । केटाकेटी स्कुल जान्छन्, ठूला अरुकोमा मजदुरी गर्छन् ।”

चुनावमा जितेका सांसद फर्किएर नआएको जोगीले गुनासो गर्नुभयो । “हाम्रा लागि यो गर्छौँ ऊ गर्छौँ भने तर खोइ त रु”उहाँले प्रश्न गर्नुभयो । उनीहरु आफ्नो जातिको उत्थानका लागि दलहरुले कार्यक्रम ल्याउन माग गर्छन् ।

नेपाली काँग्रेस झापाका सचिव प्रेम सोम्बाहाम्फे किसान समुदायको शिक्षा, स्वास्थ्यलगायतमा पार्टीले सहयोग गरेको बताउनुभयो । उहाँले गरिबी न्यूनीकरणका लागि भनेर किसान बस्तीमा सुँगुरको पाठो वितरण गरिएको जानकारी पनि दिनुभयो ।

नेकपा (एमाले) झापा १ नं क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकीले किसान समुदायको जीवनवृत्तिका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले समुदाय उत्थानका लागि पार्टीले राज्यसँग पहल गर्न भूमिका मात्र खेल्न सक्ने उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का मेचीनगर इन्चार्ज प्रकाश भण्डारीले माओवादी आन्दोलनले किसान समुदायले पनि अधिकार प्राप्त गरेकाले यो नै ठूलो उपलब्धि भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीले किसान जातिमा आइपरेका समस्यामा सहयोग गरिरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्