‘१० वर्षपछि मजदुर विदेश जानु पर्दैन’



नेपाल समाचारपत्र
हेटौंडा
उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालन गर्ने मालिक र काम गर्ने मजदुरको सम्बन्ध राम्रो हुनुपर्ने बताउनुभएको छ। उद्योग संघ मकवानपुरको १५औं वार्षिक साधारणसभा हेटौंडामा उद्घाटन गर्दै उहाँले उद्योगी र मजदुरमा एकले अर्कोलाई हेर्ने दृष्टिकोण राम्रो हुनुपर्ने बताउनुभयो। सधैंका लागि उद्योगी र मजदुरबीच समस्या समाधान गर्ने उपाय आफूले खोज्दै गरेको बताउँदै उहाँले भन्नुभयो–‘उद्योगीले मजदुरलाई काम नगर्ने हिसाबले हेर्न मजदुरले उद्योगीलाई धेरै कमाएर लगे भन्ने समस्या धेरै छ। उद्योग सञ्चालन गर्दा पहिले नै कति नाफा गरे कति मजदुरलाई दिने र मजदुरले कसरी धेरै उत्पादन गर्नसक्ने भन्ने विषयमा सोचे यसको समाधान हुनेछ।

१० वर्षभित्र मजदुरीका लागि विदेश जानुपर्ने बाध्यता हटाउने गरी रोजगारीको वातावरण सिर्जना गर्दै लगिने उहाँको भनाइ छ। उद्योगीले लगानी गरेर त्यसको लगानी सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने बताउँदै उहाँले भन्नुभयो–‘उद्योगीले उद्योग खोल्न लगानी गरेपछि २० वर्षसम्म उसलाई कुनै खालका समस्या भएनन् भनेमात्र उद्योग फष्टाउँदै जानेछन्।

अबका दिनमा उद्योग खोल्ने बित्तिकै त्यसलाई चल्ने वातावरण तयार गर्न सरकारले सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो। सांसद् अनन्त पौडेलले औद्योगिकीकरणका नीति र विकासमा कसैले ध्यान नदिएको बताउनुभयो। नेपाल उद्योग परिसंघ उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले उद्योगीका नीतिगत समस्या समाधान गर्दै जानुपर्ने बताउनुभयो।

उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, उद्योग संघ मकवानपुर पूर्वअध्यक्ष माधव अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपाने, नारायणी यातायात व्यवसायी संघ अध्यक्ष बद्रीप्रसाद चौलागाईं र नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका नेता गंगा भट्टराईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्