युरोपेली पर्यटक ४० प्रतिशतले बढाउने लक्ष्य



नेपाल समाचारपत्र
काठमाडौं

युरोपेली मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या सन् २०१७ मा ३० देखि ४० प्रतिशतले बृद्धि गर्ने महत्त्वाकाक्षीं योजनासहित नेपाल पर्यटन बोर्डले ‘नेपाल भ्रमण वर्ष– युरोप २०१७’ को घोषणा गरेको छ।

नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा युरोपेली मुलुकमा चिनाउन र युरोपबाट पर्यटक भित्र्याउन बोर्डले स्थापनाको १८औं वार्षिकोत्सवमार्फत् यस्तो कार्यक्रम घोषणा गरेको हो। पर्यटन व्यवसायीयद्वय कर्ण शाक्य र अम्बिका श्रेष्ठले शनिबार संयुक्तरूपमा कार्यक्रम शुभारम्भ गर्नुभयो। आयरल्यान्ड, बेलायत, स्वीटजरल्यान्ड, रुस, नेदरल्यान्ड, जर्मनी, बेल्जियम, फ्रान्स स्पेन, डेनमार्कलगायतका मुलुकमा रहेका दूतावास, नियोग, गैरआवासीय नेपाली संघ⁄संस्था र ती मुलुकका सरकारी र गैरसरकारी संघ⁄संस्थाको समन्वयमा कार्यक्रमको प्रचार गर्ने बोर्डले जनाएको छ।

सो अवसरमा बोल्दै पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाही, पर्यटन व्यवसायीद्वयले कार्यक्रम सफल बनाउन सरकारसहित पर्यटन क्षेत्रका सबै निकायबीच गतिलो हातेमालो हुनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी पर्यटन सचिव शंकरप्रसाद अधिकारीले कार्यक्रमको तयारीसँगै पर्यटन पूर्वाधार र सुलभ एवम् सहज हवाई सेवाको आवश्यकता औल्याउनुभयो। ‘नेपालको हवाई यातायात अन्य मुलुकको तुलनामा महँगो भइरहेको अवस्थामा हवाई सेवा सहज र सुलभ बनाउन जरुरी छ’ उहाँले भन्नुभयो।कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सरकारले यस अघि घोषणा गरिसकेको नेपाल भ्रमण वर्ष २०१८ को पूर्व तयारीका रूपमा बोर्डले यस्तो कार्यक्रम अघि बढाएको बताउनुभयो। उहाँका अनुसार सन् २०१५ को ११ महिनाको अवधिमा भारत हुँदै नेपाल भित्रिने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले बृद्धि भएको छ।

यसैबीच नेपाल नागरिक उडड्यन प्राधिकरणले आर्थिक वर्ष २०७२⁄७३ मा ४ अर्ब ५२ करोड १४ लाख रुपियाँ आम्दानी गरेको छ। प्राधिकरणले सो अवधिमा ३ अर्ब ८७ करोड ६७ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो। प्रधिकरणले लक्ष्यभन्दा ६४ करोड ३८ लाख रुपियाँ बढी आम्दानी गरेको छ।

१८औं वार्षिकोत्सवका अवसरमा दिइएको जानकारी अनुसार प्राधिकरणले आव २०७२⁄७३ मा सरकारलाई मूल्य अभिवृद्धि कर वापत ५१ करोड १५ लाख, आयकर ४७ करोड ५९ लाख, धरौटी वापत१७ करोड २३ लाख, ऋणको साँवा वापत ९ करोड ४४ लाख, ब्याज वापत २० करोड ६२ लाख गरी कुल १ अर्ब ४६ करोड ३ लाख रुपियाँ पनि भुक्तानी गरेको छ। प्राधिकरणले सरकारलाई साँवा ब्याज गरी २९ करोड ८८ लाख, कर्मचारी कल्याणकोष सापटीका लागि१५ करोड, आयकर व्यवस्थाका लागि ९ करोड १५ लाख, कर्मचारी आवास व्यवस्थाका लागि ३८ करोड ३५ लाख,सरकारको लगानीको लाभांश १ अर्ब ४७ करोड ६२ लाख, मूल्य अभिवृद्धि कर १ अर्ब ७९ करोड ६७ लाख, कर्मचारी बोनसवापत ५३ करोड २७ लाख, स्थिर सम्पत्ति प्रतिस्थापनको लागि ४१ करोड ४६ लाख विनियोजन गरिएको जनाएको छ। चालू आवको पुँजीगत खर्च २७ अर्ब ३५ करोड ४० लाख, कार्य सञ्चालनतर्फ ३ अर्ब ४८ करोड ५४ लाख गरी गरी कुल ३० अर्ब ८३ कुरोड ९४ लाख विनियोजन गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्