३ करोडको योजना स्वीकृत



लमजुङ, (नेस) जिल्लाको बेंसीशहर नगरपालिका आगामी आर्थिक वर्ष २०७४⁄७५ का लागि ३ करोड १८ लाख रुपियाँ बराबरको योजना छनोट भएको छ। आउँदो नगरपरिषद्मा पेस गर्नका लागि सो बजेट र योजनालाई एकीकृत योजना तर्जुमा समितिको बैठकले अन्तिम रूप दिइएको हो।

परिषद्मा आन्तरिक पुँजीगततर्फ ७५ लाख, नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लागत साझेदारीमा १ करोड ४३ लाख, सडक बोर्डमा ५० लाख र नगरपालिका अनुदानतर्फ ३ करोड १८ लाख रुपियाँ बराबरको योजना छनोट गरिने भएको बेंसीशहर नगरपालिकाका कार्यकारी प्रमुख धर्मराज लम्सालले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाको १८ वटै वडाको भेलाले पारित गरी प्रस्ताव गरेका योजनामध्येबाट प्राथमिकता आधारमा बैठकले योजना छनोट गरेको छ। नगरपालिकाले आगामी वर्षका लागि ३२ वटा केन्द्रीयस्तरका र ३६ वटा जिल्लास्तरका आयोजना प्रस्ताव गरेको पनि उहाँले बताउनुभयो।

वडाहरूवाट प्राप्त योजनाअनुसार नगरपालिका अनुदान तथा आन्तरिक पुँजीगत अन्तर्गत प्रवद्र्धनात्मक कार्यक्रम एवम् योजना, अन्य भौतिक पूर्वाधार, बालबालिका, महिला, आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अपांगता, ज्येष्ठ नागरिक तथा युवा लक्षित कार्यक्रमतर्फ ५ सय ६७ वटा र वातावरणमैत्री स्थानीय शासनअन्तर्गत ३१ वटा योजना गरी कुल ६ सय योजना प्रस्तावित भएर आएको नगरपालिकाले जनाएको छ।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ खेलकुद, आयआर्जन, पशुपालन, सीप विकास, वातावरण, पर्यटन प्रवद्र्धन तथा धार्मिक तथा साँस्कृतिक संरक्षण जस्ता विविध क्षेत्रलाई समेटेर प्राथमिकताका आधारमा योजना तर्जुमा गरिएको नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्