समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा



मन्जलीकुमारी योञ्जन (रातो जर्सी) श्रीलंकाविरुद्ध बल लग्दै ।

रमेश समदर्शी, सिलिगुडी
सिलिगुडीमा जारी चौँथो साफ महिला च्याम्पियनशिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार श्रीलङ्कालाई १–० ले स्तव्ध पारी तीन जितसँगै नेपाल समूह विजेता बनेको हो । नेपालले सोमबार हुने सेमिफाइनल खेलमा बंगलादेश वा भारतसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई बीच खेल आज हुँदैछ ।

यसअघिका दुई खेलमा गोलको वर्षा गरेको नेपालले श्रीलङ्कासँगको खेलमा कठिन जीत दर्ता गरेको थियो । नेपालले जीत दर्ता गर्न खेलको ८५ मिनेट खर्चिनु परेको थियो । निर्धारित समय सकिन ५ मिनेट बाँकी रहँदा मिडफिल्डर सपना लामाले प्रहार गरेको कर्नरको बल विपक्षी टीमको डिफेन्डरको खुट्टामा लागेर भएको अप्रत्यासित गोल नै नेपालको जीतको कारण बन्यो । म्याच कमिस्नर कोल गौतमकारका अनुसार श्रीलङ्काली खेलाडी आरडीएलआर गुनावर्दनको आत्मघाती गोल थियो ।

श्रीलङ्कासँगको खेल नेपालको अहिलेसम्मकै कमजोर प्रदर्शन रह्यो । अघिल्लो खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० को हराएको नेपालले श्रीलङ्कासँग आशातित प्रदर्शन गर्न सकेन । श्रीलङ्काले सुरुदेखि नै नेपाललाई दबाबमा राख्यो । नेपाली स्ट्राइकर सावित्रा भण्डारीलाई सुरुदेखि नै रोक्ने प्रयत्नमा थियो, श्रीलङ्का । नेपाललाई गोलरहित बराबरीमा रोक्ने रणनीतिका साथ मैदान उत्रेको श्रीलङ्काले डिफेन्समा आधा दर्जन खेलाडी तैनाथ गरेको थियो । उसले सावित्रालाई चल्न नदिन दुई जना खेलाडी अनमार्क राखेको थियो ।

श्रीलङ्काको बलियो डिफेन्सिभका बीच पनि नेपाली खेलाडीले पटक पटक पोस्ट अट्याक गरे । तर, कुनै बल बाहिरियो भने केही बल किपर साइना विजेरत्नेले रोकिन् । श्रीलङ्काले नेपाली स्ट्राइकर सावित्रालाई गोल गर्ने मौकै दिएनन् । जसका कारण अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेकी उनी शुक्रबार खासै चलिनन् ।
सन् २०१४मा पाकिस्तानमा भएको तेस्रो साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई सेमिफाइनलमा ३–० ले हराएर फाइनल पुगेको थियो । गतवर्ष सिलोङमा भएको साग फुटबलमा श्रीलङ्का नेपालसँग ४–० ले पराजित भएको थियो । श्रीलङ्कासँग नेपाली महिला टीम अहिलेसम्म पराजित भएको छैन ।

नेपालका कोच कुमार थापाले खेलाडीको प्रदर्शन राम्रो भए पनि श्रीलङ्काले रक्षात्मक खेल्दा स्कोर गर्न नसकिएको बताए । थापाले भने, ‘ शारीरिकरुपमा उनीहरु बलिया थिए, हामी पनि कमजोर थिएनौँ ।’ उनले विपक्षी कोचको रणनीतिको प्रशंसा गर्दै नेपाललाई रोक्न सकेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्