चन्द्रकलाको दुई कीर्तिमान



सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ नेपाल प्रहरीकी धाविका चन्द्रकला लाम्गादेले दुई राष्ट्रिय कीर्तिमान राखिन् । उनले एथ्लेटिक्सको पहिलो दिन सटपुट थ्रो (फलामको डल्लो) मा राष्ट्रिय कीर्तिमान रचेकी हुन् । त्यस्तै एथ्लेटिक्सको दोस्रो दिन चन्द्रकलाले ज्याभ्लिन थ्रो (भाला) मा पनि कीर्तिमान राखी पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदलाई सफल पारिन् ।

सुनसरीको इटहरी रंगशालामा चन्द्रकलाले सटपुट थ्रो मा ११ दशमलव ५६ मिटर दूरीमा फ्याँकेर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई पछाडि पारिन् । त्यस्तै उनले ज्याभ्लिन थ्रोमा ४३.९४ मिटर दूरी फ्याँक्दै आफ्नै नाममा रहेको ४३.९० मिटरको कीर्तिमानमा सुधार गरेकी हुन् । चन्द्रकलाले गत वर्ष १२औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भएको छनोटमा उक्त कीर्तिमान बनाएकी थिइन् । ज्याभ्लिन थ्रो मा सेनाकी लक्ष्मी थाक (३९.९९ मिटर) दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सीमाकुमार थारु (३९.२७ मिटर) तेस्रो भए ।

महिला पाँच हजार मिटर दौडमा एपीएफकी कान्छीमाया कोजु पहिलो भइन् । कान्छीमायाले १८ मिनेट १३.४ सेकेन्ड समय लगाइन् । आर्मीकी सानुमाया कार्की (१८ मिनेट ३३.३९ सेकेन्ड) दोस्रो तथा आर्मीकै विश्वरुपा बुढा (१८ मिनेट ३७.०४ सेकेन्ड) तेस्रो बने ।

प्रतिक्रिया दिनुहोस्