नेपाली क्रिकेट हारेको दिन



फिरोज राजोपाध्याय
काठमाडौं

तौं राष्ट्रिय खेलकुदमा सबैभन्दा विवाद महिला क्रिकेटमा हुन पुग्यो । इटहरीमा मंगलबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको टिम नेपाल एपीएफ क्लब र क्षेत्रीय टिम पूर्वाञ्चलका खेलाडीबीच घम्साघम्सी भयो । त्यो पनि एक चौकाका लागि । दुबै टिममा प्रायजसो राष्ट्रिय खेलाडी भए पनि आखिर त्यो एक चौकाले दुबै टिमका खेलाडीलाई फाटो ल्याइदिएको थियो । चौका दिए पूर्वाञ्चल रिसाउने र चौका नदिए एपीएफ रिसाउने वातावरण बनिदिएको थियो । हार कसैले मान्न तयार थिएनन् त्यतिबेला ।

नेपालमा थर्ड अम्पायरले रिप्ले घडी हेरेर निर्णय लिने सिस्टम पनि छैन । यो गाह्रो विषय हुँदाहुँदै पनि विवाद चर्कायो दुबै पक्षले । अन्ततः आयोजकबाटै पूर्वाञ्चल विजयी भएको घोषणा भयो । परिणाम सातौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटको स्वर्ण आयोजक टिमले जित्यो । रजत एपीएफको भागमा आयो । तर एपीएफका खेलाडीहरूले रिसमै रजत पनि तिमीहरू नै राख भनेर रजत पदक लिन गएनन् । पछि एपीएफकै मेनेजरले एकमुस्ट पदक लिएको एपीएफकी कप्तान निरा राजोपाध्यायले बताइन् ।

निराले नेपाल समाचारपत्रसँगको कुराकानीमा भनिन्– ‘त्यसो त हामीले खेल त्याग गरेकै थिएनौं । हामी छलफलमा थियौं । मिडियामा आएजस्तो हामीले खेल त्यागेको होइन । आयोजकले नै पूर्वाञ्चल विजयी भएको घोषणा गरेको थियो । हामीले निर्णय लिनुअगाडि त्यस निर्णयले हाम्रा सरले पनि यसमा विवाद गर्न चाहनुभएन ।

चौका विवादपछि दुई बल फ्याँकिएको थियो । जुन दुबै वाइड फ्यालिएको थियो । यो दुई अतिरिक्त रनपछि एपीएफको १८.४ ओभरमा ५९ रन भइसकेको थियो । विभागीय टोलीसँग २ विकेट हातमा छ र स्वर्ण जित्न ८ बलबाट ५ रन मात्रै बनाउनुपर्ने स्थिति थियो । यसपछि फेरि खेल स्थगित गरियो । निराले बताइन्– ‘चौका विवादपछि दुई वाइड फ्याँकिएको थियो । यसले हामी जित निकट थियौं।’ खेल फेरि स्थगित गरिएपछि खेल पुनः सञ्चालन भएन ।

चौका विवाद हुनुनपर्ने पनि निराले बताइन्। उनले भनिन्– ‘त्यो चौका नै थियो । बाउन्ड्री लाइन छोएपछि चौका भएको हामीले स्पष्ट देखेका थियौँ । तर पूर्वाञ्चलका फिल्डर अप्सरा बेगमले चौका होइन भनिदिइन् । फेरि सरस्वती चौधरीले पनि चौका नभएको बताइन् । जबकी अम्पायर गुप्ताले चौका भएको नै बताउनुभएको थियो ।’

विपक्षी खेलाडीको भनाइले गर्दा हामीलाई लाग्यो उनीहरू जसरी नि स्वर्ण जित्ने धुनमा थिए । फेरि चौका दिएमा खेल बहिष्कार गर्ने पूर्वाञ्चलका खेलाडीको भनाइ आक्रमक तरिकाले आयो । यसले पनि स्पष्ट भयौं कि आयोजकले स्वर्ण जित्न यस्तो हथकन्डा अपनाएको भन्न हामीलाई कर लाग्यो ।

तर यो विवादले सातौं राष्ट्रिय खेलकुदको गरिमा घटाएको छ । आयोजकले विवाद मिलाउनु नसक्नु सबैभन्दा लापर्बाहीको विषय बनेको छ । झारा टार्ने किसिमले प्रतियोगिता आयोजना गर्नुभन्दा ढिलै भए पनि राम्रो व्यवस्थित तरिकाले प्रतियोगिता आयोजना गर्नुपर्ने निराको भनाइ छ । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान बनिसकेकी निराले भनिन्– ‘यो विवादले कोही पनि जितेनन् । केवल हारेको छ नेपाली क्रिकेट । दिदीबहिनीमा झगडा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्