भारोत्तोलनमा कीर्तिमानै कीर्तिमान



सातौं राष्ट्रिय खेलकुद जति सफल हुन्छ भनेर सोचिए पनि पूर्वाञ्चलमा भएको सो खेलकुदमा केही कीर्तिमान मात्र बनेका छन् । त्यो पनि बढीमा आफ्नै कीर्तिमान तोडिएका छन् । धेरै भारोत्तोलनमा कीर्तिमान रचिएका छन्। केही कीर्तिमान यस प्रकारका छन् ।

सातौं राष्ट्रिय खेलकुदको भारोत्तोलन खेल सप्तरीको राजविराजमा सम्पन्न भएको थियो । पहिलो दिनमा नेपाल प्रहरीकी देवी चौधरीले भारोत्तोलनको महिला स्पर्धामा राष्ट्रिय कीर्तिमान राखिन् । देवीले ५३ केजी तौल समूहमा स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरी कूल १ सय ३८ केजी भार उचालेर राष्ट्रिय कीर्तिमान रचेकी हुन् । यसअघि देवीकै नाममा स्न्याचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७७ केजीको राष्ट्रिय कीर्तिमान थियो । सो विधामा प्रहरीकी संगीता राईले रजत र पश्चिमाञ्चलकी टीकामाया गुरुङले कांस्य पदक हासिल गरे ।

सप्तरीको राजविराजमा दोस्रो दिन पनि राष्ट्रिय कीर्तिमान रचियो । भारोत्तोलनको महिला ५८ केजी तौल समूहमा नेपाल सेनाकी कमला श्रेष्ठ तथा पुरुषको ८५ केजी तौल समूहमा सेनाकै कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

कमलाले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरी जम्मा १४५ केजी भार उठाएर तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । स्न्याचमा कमलाले झन्ट कट्वालले २०६२ सालमा ललितपुरको लुभूमा भएको दोस्रो राष्ट्रिय महिला भारोत्तोलनमा बनाएको ६५ केजीको कीर्तिमान तोडेकी हुन् ।
त्यस्तै कूलमा पनि कमलाले दोस्रो राष्ट्रियमै झन्टले नै बनाएको १४२ केजीको कीर्तिमान तोडिन् । क्लिन एन्ड जर्कमा भने कमलाले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा भएको प्रथम शालिमार भारोत्तोलनमा बनाएको ७८ केजीको कीर्तिमान भंग गरेकी हुन् ।

१० औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका कमलले क्लिन एन्ड जर्कमा १५५ केजी तौल उठाएर नयाँ राष्ट्रिय कीर्तिमान रचेका हुन् । उनले ज्ञानबहादुर श्रेष्ठको राष्ट्रिय कीर्तिमान तोडेका छन् । श्रेष्ठले श्रीलंकामा भएको १० औं सागमा १५४ केजी भार उठाएर राष्ट्रिय कीर्तिमान रचेका थिए । कमलले सातौं खेलकुदअन्तर्गत स्न्याचमा १०५ केजीसहित कूल २६० केजी तौलको भार उचाले ।

तेस्रो दिन पनि भारोतोलनमा नयाँ राष्ट्रिय कीर्तिमान सिर्जित भयो । जसमा पुरुषतर्फको ९४ केजी तौल समूहमा नेपाली सेनाका दिनेश श्रेष्ठले १२औं सागमा बनाएको आफ्नो कीर्तिमानलाई तोडेका हुन् । उनले क्लिन एन्ड जर्कतर्फ १५० केजी, स्न्याचतर्फ ११८ केजी गरी कूल २६८ केजी भार उचालेका थिए । यसअघि उनको क्लिन एन्ड जर्कमा १४७ केजी, स्न्याचतर्फ ११७ केजी गरी कूल २६४ केजी भार उठाएको राष्ट्रिय कीर्तिमान थियो ।

त्यस्तै चौथो तथा अन्तिम दिन पुरुष १०५ केजीमाथि नेपाल आर्मीका पुकार गुरुङले स्न्याचमा १२४ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको १२३ केजीको कीर्तिमानमा सुधार गरे । उनले गत वर्ष थाइल्यान्डमा भएको एसियाली च्याम्पियनसिपमा उक्त राष्ट्रिय कीर्तिमान बनाएका थिए । पुकारले स्न्याचमा १२४ केजीसहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कूल २५९ केजी भार उचाल्दै स्वर्ण जिते ।

प्रतिक्रिया दिनुहोस्