सेञ्चुरी बैंकले अरू दुई बैंक प्राप्ति गर्ने



नेपालमा समाचारपत्र
काठमाडौं

नेपाल राष्ट्र बैंकले सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको प्राप्ति (एक्वायर) को बुधबार सैद्धान्तिक सहमति दिएको छ।

सेञ्चुरी बैंकले ३० प्रतिशत हकप्रद शेयर जारी गरेपछि ३ अर्ब ७० करोड रुपियाँ चुक्ता पुँजी पुर्याएको छ। त्यस्तै इन्नोभेटिभ डेभलपमेन्ट बैंकको २९ करोड रुपियाँ चुक्ता पुँजी छ भने अरनिको डेभलपमेन्ट बैंकको २५ करोड ७८ लाख रुपियाँ चुक्ता पुँजी रहेको छ। ती बैंकले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण भएपछि एक्वायर हुनेछ। यी दुई संस्था खरिद गरेपछि सेञ्चुरी बैंकको चुक्ता पुँजी पाँच अर्ब रुपियाँ नाघ्नेछ।

अरनिको डेभलपमेन्ट बैंकले शेयरधनीलाई सय कित्ता बराबर ३६ कित्ता हकप्रद शेयर वितरण गर्दैछ। एक्वायर, हकप्रद र मुनाफाबाट सेञ्चुरीले राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने लक्ष्य राखेको छ। साथै बैंकले माघ महिनाभित्रै एकीकृत कारोबारको लक्ष्य राखेकोमा राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएकाले माघभित्रै एकीकृत कारोबार सम्भव देखिएको छ।सेञ्चुरी बैंकले आव २०७३⁄७४ को असोज मसान्तसम्म कुल निक्षेप ३१ दशमलव ६८ अर्ब र कर्जा २७ दशमलव ६० अर्ब परिचालन गरी १२ दशमलव ३१ करोड रुपियाँ सञ्चालन मुनाफा र ७ दशमलव ४३ करोड रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

त्यसैगरी इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्ने छ। प्राप्ति, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने लक्ष्य लिएको छ। हाल सेञ्चुरी बैंकको ३१ वटा शाखा, २९ वटा एटीएम, १३ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन काउन्टर रहेको छ।

प्रतिक्रिया दिनुहोस्