‘सेवा नै धर्म’



विजय लामा
अध्यक्ष, ज्योतिको घर नेपाल

समाजमा मानव सेवाभन्दा ठूलो कुनै धर्म छैन् । हाम्रो समाजमा शिक्षा पाउनबाट वञ्चित भएका बालबालिकाहरूलाई सरकारले तोकेको मापदण्डअनुसार बालगृहमा राखेर निःशुल्क रूपमा शिक्षा प्रदान गर्दै आएका छौं । बालगृहमा ल्याएपछि १८ वर्ष नपुग्दासम्मको सम्पूर्ण व्यवस्थापनको काम हामीले नै गर्दै आएका छौं ।

हाम्रो उद्देश्य कुनै पनि कारणले भविष्यका कर्णधार बालबालिका शिक्षा पाउनबाट वञ्चिन नहुन् भन्ने हो। बुबाआमा नभएका असहाय, विपन्न र विशेष गरी शिक्षाबाट वञ्चित वादी र चेपाङ समुदायका बालबालिकाहरूलाई बालगृहमा राखेर शिक्षा प्रदान गरिरहेका छौं । हाल संस्थामा ८९ जना कर्मचारी र ६ सय ८० जना बालबालिका छन् । बालबालिकाहरूका लागि वार्षिक ९ करोड ९५ लाख रुपियाँ खर्च हुँदै आएको छ । ज्योतिको घरको हेटौंडा र सुर्खेतमा शाखा स्थापना पनि गरेका छौं । दलित बालबालिका, जातीय विभेदमा परेका बालबालिका, स्कुल जान नपाएका हिंसामा परेका, द्वन्द्वपीडित बालबालिकाहरूलाई हामीले बालगृहमा राखेर शिक्षा प्रदान गर्दै आएका छौं ।

नेपालमा सञ्चालित बालगृहमध्ये हामीले पनि राम्रो काम गर्न सफल भएका छौं । काठमाडौंको गोकर्णेश्वरमा केन्द्रीय कार्यालय रहेको छ । मूलपानी नारायणटार टुसाललगायतका गरी राजधानीमा सात वटा छात्राबासमा बालबालिकाहरूलाई राखेका छौं । सरकारी निकायको समन्वय तथा दातृ निकायको आर्थिक सहयोग जुटाएर आफ्नै भवन निर्माण गर्ने योजना अगाडि सारेका छौं । भवन निर्माणका लागि २५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । ज्योतिको घरले बनाउने भवन बालमैत्री र अपाङ्गमैत्री हुनेछ । सुर्खेतको छिन्चुमा २७ जना र हैटौंडा नगरपालिका–२१ मा ५८ जना चेपाङ बालबालिकाहरूलाई शिक्षा प्रदान गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्