ढिकुरपोखरीमा शैक्षिक एवं धार्मिक महोत्सव हुने



(टंकराज अधिकारी)/पोखरा, १२ पुष ।
कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ्रे मावि/शिक्षा क्याम्पसमा आगामी माघ ५ देखि १२ गतेसम्म शैक्षिक एवं धार्मिक महोत्सव हुने भएको छ ।

माछापुच्छ्रे मावि/शिक्षा क्याम्पसमामा प्रविधिक शिक्षा सहित त्यसका फिडर स्कुलहरुको गुणस्तर अभिबुद्धी गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

प्राविधिक शिक्षाको लागि पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा कृषि इन्जिनियरिङ क्याम्पस संचालन गर्न प्रारम्भिक चरणको प्रक्रिया शुरु भई सकेको महोत्सव मुल आयोजक समितिका संयोजक पुन्य प्रसाद पौडेलले पत्रकार भेटघाटमा बताए ।

महोत्सव सम्पन्न गर्नका लागि कास्कीका पूर्व जि.वि.स. सभापति तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलको अध्यक्षतामा ५५५५ सदस्यीय मूल आयोजक समिति, ४२ वटा बिभिन्न उपसमितिहरु गठन गरिएको र प्रमुख संरक्षकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संरक्षकहरुमा संस्थापक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पं अनन्तनाथ शर्मा लगायत कास्की जिल्ला पार्टी प्रमुखहरु, सांसदहरु रहेको मुल ब्यवस्थापन समितिका महासचिव यादवराज अधिकारीले बताएका छन ।

वहाँ अनुसार राजनैतिक दलका गा.वि.स. स्तरीय प्रमुखहरु वरिष्ठ उपाध्यक्ष र राजनैतिक दलका जिल्ला स्तरीय प्रतिनिधी, सम्पर्क समाजका अध्यक्षहरु, क्याम्पस स्थापनाकालका संरक्षकहरु, छात्रवृत्तिकोष संस्थापकहरु महोत्सवका उपाध्यक्ष रहेका छन् ।

महोत्सवबाट करीव ५ करोड आम्दानी हुने र करीव ५० लाख खर्च अनुमान गरिएको साथै १ लाख भन्दा वढीको सहभागिता रहने क्याम्पस प्रमुख एवं मुल ब्यवस्थापन समितिका अर्का महासचिव रामचन्द्र सुवेदीले जानकारी दिएका छन ।

उक्त महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक गोविन्दशरण महाराज र मीरादेवीले श्रीमद् भागवत् कथा वाचन गर्नुका साथै ५१०० शान्ति कलश पूजन, सहस्र शालिग्राम पूजा, विराट धनधान्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, शुभ व्रतवन्ध, शैक्षिक प्रदर्शनी, विभिन्न धार्मिक सम्प्रदायका धर्म गुरुहरुको सहभागिता सहित राष्ट्रिय कलाकारहरुबाट सङ्गीतमय भजन कृतन हुनेआयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्