अँध्यारोका कारण हक्की स्थगित



विराटनगर, १३ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ ।

निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि दुवै टोलीका खेलाडीले अँध्यारोमा खेल्न नमानेपछि खेल स्थगन गरिएको थियो । साँझ ४ बजेपछि मात्र उक्त खेल सुरु हुन लागेको थियो । “खराब प्रकाशका कारण खेल स्थगन गरिएको हो,” हक्की प्रशिक्षक राजेन्द्र पाठकले भन्नुभयो । उक्त खेल आज पुनः सुरुदेखि खेलाइने छ । उक्त खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ । यसअघि नेपाली सेना फाइनलमा प्रवेश गरिसकेको छ । सेनाले मध्यपश्चिमाञ्चललाई पराजित गरेको थियो ।

यस्तै महिला हक्कीतर्फ आजको खेलमा राउन्ड रोबिन लिगमा सुदूरपश्चिमाञ्चलले सेनालाई १–० गोलअन्तरले हरायो । जितसँगै सुदूरपश्चिमाञ्चल ६ अङ्कसहित शीर्षस्थानमा छ । आज सुप, पश्चिमाञ्चलसँग तथा सेना पूर्वाञ्चलसँग खेल्नेछन् । महिलातर्फ सुदूरपश्चिमले तीन खेलमा पूरै जित हासिल गरेको छ । आजको खेल जितेमा उसले स्वर्ण जित्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्