पारिको हल्लीखल्ली



नेपाल चीनसँग कुनै न कुनै हिसाबले जोडिएको कुरा बाहिर आएपछि भारतीय मिडियामा हल्लीखल्ली हुने गरेको धरहराले देख्दै आएको छ। हिजो मंगलबार पनि मूलधारका भारतीय पत्रिकाहरूमा यस्तै एउटा चर्चाले हल्लीखल्ली मच्चिएको छ। कुरा नेपाल –चीन संयुक्त सैन्य अभ्यासको हो। जुन आगामी फेब्रुवरी महिनामा हुने कार्यक्रम तय भएको थियो। त्यसको लगत्तैदेखि भारतीय पत्रपत्रिकाहरूमा निकै चर्चा हुन थालेको छ। यति सम्मकी भारतीय पत्रिकाहरूले नेपालका राजदूत दीपकुमार उपाध्यायलाई सोधेर हैरान पार्न थालेको धरहराबाट देखिएको छ।

राजदूत उपाध्याय यो सामान्य कुरा हो भन्दै पन्छिने गर्नु भएको छ। हुन पनि विगतमा नेपाल र भारत अनि नेपाल र अमेरिकाबीच यस प्रकारको सैन्य अभ्यास हुँदै आएको हो। अहिलेपनि त्यसैको निरन्तरताको रूपमा चीनसँग हुन लागेको हो।

भारत र अमेरिकासँग त्यसखालको अभ्यास हुँदा केही नहुने तर चीनसँग जब हुने कुरा आयो हल्लीखल्ली। रमाइलो छैन त पाठकबृन्द ? भारतका पत्रकारमित्रहरूलाई चीनको भूतले कति सताएको होला ? अझ उनीहरूले चीनको ग्लोबल टाइम्समा निस्किएको टिप्पणीलाई समेत उद्धृत गर्दै लौ बर्बाद हुन लाग्यो भनेर समाचार बनाएको बनाएकै छन्। होइन, कमरेड प्रचण्ड जब प्रधानमन्त्री हुनुहुन्छ तब नै किन सेना सम्बन्धी विषयले यसरी बजार पिट्नु परेको होला ?

अझ यही विषयलाई जोडेर भारतीय सञ्चारमाध्यमले त जोड्न भ्याइसके –‘पहिला ओली प्रम हुँदा भारत विरोधी भावना नेपालमा थियो अहिले प्रचण्डको पालामा पनि त्यस्तै हुन लागेको त होइन ?’चीनबाट नेपालतिर जुत्ता छिर्दापनि बडेमानका समाचार, सैनिक अभ्यासको कुरामा पनि समाचार। प्रभुको लीला अपरम्पार नै मान्नुपर्छ बा। कुन दिनबाट नेपालको सीमा जोडिएको विषयलाई लिएर पनि आश्चर्य मान्दै समाचार बनाइयो भने अर्को आश्चर्य नमान्दा हुन्छ।

प्रतिक्रिया दिनुहोस्