दाँत झरेका डाइनोसोरस वनस्पति खान्थे



बेइजिङ, (एजेन्सी) अहिलेसम्म प्राप्त डाइनोसरसको जीवावशेषको आधारमा तिनीहरूमध्ये केहीको ठूलो हुने क्रममा दाँत झर्ने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। वैज्ञानिकहरूले तिनीहरूले सानो छँदा दाँतले मासु खाने र पछि वयस्क अवस्थामा पुगेपछि भने बोटबिरुवा खाने गरेको बताएका छन्।

यस्तो आश्चर्यलाग्दो तथ्य अन्य सरिसृप जीवहरूमा अहिलेसम्म नदेखिएको बताइएको छ। करिब १५ करोड वर्षअघि चीनमा लिमुसरस इन्एक्सट्रिक्याविलिस बस्ने गर्दथे। तिनीहरूको जीवावशेषहरू करिब एक दशकअघि मात्र फेला परेको थियो। यससम्बन्धी अनुसन्धानको नेतृत्व गरेका चीनको राजधानी बेइजिङस्थित नोर्मल युनिभर्सिटीका सुओ वांगले बताएका छन्– ‘शुरुमा हामीले वुकाइवान क्षेत्रमा दाँत भएका र दाँत विहीन गरी दुई थरिका सेरातोसरियन डाइनोसरस भएको विश्वास गरेका थियौं।’

तर पछि प्यालेन्टोलोजिस्टहरूले दाँतबाहेक तिनीहरूमा सबै समानता रहेको पत्ता लगाएका थिए। तिनीहरूले समयको अन्तरालसँगै ती डाइनोसरसको दाँत झरेको र सरिसृप जीवमा यस्तो हुने गरेको पहिलोपटक पत्ता लगाएका थिए। उक्त अनुसन्धानमा सरिक नरहेका एडिनवर्ग युनिभर्सिटीका डा. स्टेफन ब्रुसात्तेले यो महत्त्वपूर्ण खोज भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्