बक्सिङमा सेनाको वर्चस्व कायमै



झापा, १२ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ ।
सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभागीय टिम सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका दुई तथा मध्यमाञ्चलका एक खेलाडी स्वर्ण पदक नजिक पुगेका छन् ।

पुरुष तथा महिलातर्फ ४९ किलोदेखि ६० किलो तौलमा छ वटा स्पर्धामा सेनाका खेलाडी फाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फ सुभाष विक, प्रेम चौधरी, विमल रोक्का तथा महिलातर्फ ललिता मर्हजन, गीता थापामगर र विमला श्रेष्ठ फाइनल पुगेका छन् ।

यस्तै विभागीय टिम सशस्त्र प्रहरीबाट पुरुषतर्फ विक्रम परियार र पुरन राई तथा महिलातर्फ माला राई र प्रमिला पाण्डे स्वर्ण पदकका लागि आज भिड्ने छन् । यसैगरी नेपाल प्रहरीका देवान शर्मा र दिनेश श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । मध्यमाञ्चलका सुशील थापाले समेत फाइनलमा स्थान बनाएका छन् ।

विवादपछि पुरुष ६० किलोतौलको खेल स्थगित गरिएको छ । पूर्वाञ्चलका विराज राई र सशस्त्र प्रहरीका दिनेश चन्दबीच भएको खेलमा विवाद भएको थियो । सशस्त्रका चन्द विजयी भए पनि पूर्वाञ्चलका प्रशिक्षकले सो निर्णयको विरोध गरेपछि खेल स्थगित गरिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्