ग्रामीण भेगमा रेविजबारे जानकारी नै छैन



चिरञ्जीवी मास्के, दोलखा ।
दोलखा जिल्लामा पछिल्लो पटक रेविजका कारण तीन जनाको मृत्यु भएपछि ग्रामीण क्षेत्रका स्थानिय आतङ्कीत बनेका छन् । रेविजबारे अनभिज्ञ ग्रामीण भेगका स्थानिय रेविज भ्याक्सीन लगाउन सदरमुकाम चरिकोट आउन थालेका छन् ।

दोलखा लामाबगर गाविस वडा नम्बर ७ ठाडीकी लक्ष्मी तमाङ छोरीलाई रेविज विरुद्धको भ्याक्सीन (सुई) लगाउन सदरमुकाम चरिकोट आएको बताउछिन् । कुकुरले टोक्दा रेविज विरुद्धको भ्याक्सीन लगाउनु पर्छ भन्ने जानकारी थिएन एफएम रेडियोले कुकुरले टोकेर रेविज लागि मानिसको मृत्यु भएको समाचार आएपछि चार महिना अघि कुकुरले टोकेको आफ्नो छोरी सुस्मीता तमाङलाई लिएर रेविज विरुद्धको भ्याक्सीन लगाउन सदरमुकाम चरिकोट आएको लक्ष्मीले बताईन ।

मेरो ६ बर्षको छोरीलाई चार महिना अघि कुकरले टोकेको थियो, कुकुरले टोक्दा रेविज लागि मृत्यु समेत हुन्छ भन्ने जानकारी थिएन लक्ष्मीले भनिन् –आफ्नै गाँउको महिलाको कुकुरले टोकेर मृत्यु भएको समाचार सुनेपछिमात्र रेविज रोगको बारेमा थाहा पाए र छोरीलाई लिएर सदरमुकाम आए ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क अनुसार जिल्लामा पौष महिनामामात्र रेविजको कारण दुई महिला सहित तीन जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक डम्बर थोकरले दिएकोे जानकारी अनुसार दोलखाको ओराङ गाविस वडा नम्बर १ घर भएको १७ बर्षिय युवक युवराज ठकुरी, वडा नम्बर ९ को नाम नखुलेको बर्ष २० की सोमबहादुर तमाङको श्रीमती र लामाबगर गाविस वडा नम्बर ७ को २१ बर्षिय शारदा तमाङको रेविजका कारण मृत्यु भएको छ । मृतक मध्य दुई जनाको काठमाडौ टेकु मा र एक जनाको काठमाडौँबाट उपचार गरी घर फर्कने क्रममा बाटैमा मृत्यु भएको थियो ।

दोलखा ओराङको लमिनी तमाङ पनि कुकरले टोक्यो भने रेविज लाग्न सक्ने र त्यसको समयमै उपचार नहुदा मानिसको मृत्यु समेत हुने कुरा गाँउका धेरैलाई थाहानै नभएको बताउछिन् । गाँउमा हरेकको घरमा कुकुर पालेको हुन्छ, रेविजको बारेमा जानकारी नभएकोले सबै कुकुरलाई भ्याक्सीन लगाएको हुदैन त्यसैले स्वास्थ्य संस्था र जिल्ला पशु सेवा कार्यालयले यस बारे जानकारी तथा उपचारको व्यवस्था मिलाउनु पर्छ – लमिनीले भनिन् ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाले अहिले दोलखाको ओराङमा रेविज विरुद्धको भ्याक्सीन सहितको टोलि पठाएको र आशंका गरिएका २० जनालाई भ्याक्सीन लगाएको छ । त्यसैगरी लामाबगर गाविसमा रेविजले मृत्यु भएको युवतीको १२ जना आफन्तले सदरमुकाम चरिकोटमै आएर रेविज विरुद्धको भ्याक्सीन लगाएको जनस्वास्थ्य निरीक्षक थोकरले बताए । कार्यालयले अहिले दोलखाको विद्यालयहरु, सामुदायीक वनका सदस्यहरु, सहकारीका सदस्यहरु, महिला स्वयमसेविकाहरुलाई रेविज रोगको बारेमा जानकारी गराउने कार्यक्रम बनाएको छ । साथै रेविज रोगबारे जनचेतना अभिबृद्धिको लागि पर्चा वितरण, डकुमेन्ट्रि प्रर्दशन लगाएतको कार्यक्रम बनाईएको थोकरले बताए ।

स्वास्थ्यकर्मीहरुका अनुसार रेविज लागेको कुकुरले टोक्यो भने ११ दिन भित्र रेविज विरुद्धको भ्याक्सीन लगाउनु पर्छ । कुकुरले टोक्यो भने सुरुमा घाउलाई सावुन पानीले धुने र टोक्ने कुकुरलाई १० दिनसम्म बाधेर राख्ने तथा १० दिन भित्र कुकुर म¥यो भने रेविज विरुद्धको भ्याक्सीन लगाउनु पर्ने स्वास्थ्यकर्मीहरु बताउछन् । भ्याकसीन लगाउदा पहिलो भ्याक्सीन लगाएको तीन दिनमा दोस्रो, दोस्रो लगाएको सात दिनमा तेस्रो, तेस्रो लगाएको १४ दिनमा चौथो र चौथो लगाएको २८ दिनमा पाँचौ भ्याक्सीन लगाउनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक थोकरले बताए ।
तस्विरः रेविजको भ्याक्सीन लगाउन सदरमुकाम आएकी लामाबगरकी लक्ष्मी तमाङ र उनको छोरी सुस्मिता साथी लमिनि तमाङ ।

प्रतिक्रिया दिनुहोस्