बैदेशिक रोजगारसँग सम्बन्धित बिषयमा बिद्यार्थी अब्बल



रामधन राई/खोटाङ ।
बैदेशिक रोजगारसँग सम्बन्धित बिषयमा शारदा मावि, खार्पा खोटाङका बिद्यार्थी अब्बल पाईएको छ । बैदेशिक रोजगारसँग गाँसिएका समसामयिक बिषय, नीति–नियम, विभिन्न देशका कानुन लगायतका बिषयमा उक्त माविका बिद्यार्थी अब्बल पाईएको हो ।

बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)अन्तर्गत बिद्यालय तथा आम सञ्चार कार्यक्रमले हालै आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सहभागी बिद्यार्थीले करिब ७० प्रतिशत प्रश्नको सही जवाफ फर्काएर उत्कृष्ठ नतिजा ल्याएको कार्यक्रम संयोजक लोकमणी रिजालले जनकारी दिनुभयो ।

संयोजक रिजालका अनुसार आत्माबिश्वासका साथ प्रतियोगितामा सहभागी भएका ८ समूहको लागि तयार पारिएको अधिकांश जटिल लाग्ने प्रश्नहरुको पनि अनपेक्षित रुपमा जवाफ फर्काउँदै सबै समूहले प्रतिस्पर्धात्मक अंक ल्याएका थिए ।

बिद्यार्थी ईनिसियटिभ कार्यक्रम अन्र्तगत बिद्यालयको प्राङगणमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा कक्षा–९ का खेमराज पोखरेलका समूह प्रथम, कक्षाका कृष्ण श्रेष्ठका समूह दोश्रो र कक्षा १० की देवा नेपालीका समूहले तेश्रो स्थान हासिल गरी पाँच हजार रुपैंयाँ बराबरको पुरस्कार हात पारेका थिए ।

बिद्यालयले ब्यवस्था गरेको पत्रपत्रिका कक्षमा नियमित पत्रपत्रिका पढ्ने, घरमा बस्दा रेडियो सुन्ने तथा कक्षा १० को सामाजिक शिक्षा बिषयमा बैदेशिक रोजगार भन्ने शीर्षकको पाठ नै अध्ययन गर्ने भएकाले पनि बैदेशिक रोजगारसँग सम्बन्धित बिषयमा बिद्यार्थीलाई धेरै ज्ञान भएको प्रधानाध्यापक गोपाल बस्नेतले जानकारी दिनुभयो ।

सोही दिन, बैदेशिक रोजगारसँग सम्बन्धित बिषयमा उक्त बिद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का बिद्यार्थीसँग अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको छ । कार्यक्रममको सहजीकरण कार्यक्रम संयोजक लोकमणी रिजाल तथा सामाजिक परिचालकद्वय लीला निरौला र अञ्जु राईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्