चन्द्रकलाको ज्याभ्लिनमा पनि कीर्तिमान



नेपाल समाचारपत्र
काठमाडौं
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत अघिल्लो दिन सटपुटमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी नेपाल प्रहरी क्लबकी चन्द्रकला लामगादेले आइतबार पनि राष्ट्रिय कीर्तिमान राखिन्। चन्द्रकलाले ज्याभ्लिन थ्रोमा आफ्नै कीर्तिमानलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। सुनसरीको इटहरी रंगशालामा एथ्लेटिक्सअन्तर्गत महिलाको ज्याभ्लिन थ्रोमा उनले ४३.९४ मिटर दूरी ज्याभ्लिन फ्याकेर पहिलेको ४३.९० मिटरको कीर्तिमानमा सुधार गरेकी हुन्।

चन्द्रकलाले गत वर्ष भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भएको छनोटमा उक्त कीर्तिमान बनाएकी थिइन्। जारी प्रतियोगितामा उनको यो दोस्रो कीर्तिमान हो। शनिबार चन्द्रकलाले ११.५६ मिटर फाल्दै सुटपुटमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी थिइन्। ज्याभ्लिन थ्रोमा नेपाल आर्मी क्लबकी लक्ष्मी थाक (३९.९९ मिटर) दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सीमाकुमार थारू (३९.२७ मिटर) तेस्रो भए।

पुरुष ज्याभ्लिनमा आर्मीका रामबहादुर कुमाल ५६.८८ मिटर टाढा फाल्दै स्वर्ण जिते। प्रहरीका नरेन्द्रजंग शाही (५३.४० मिटर) दास्रो र एपीएफका प्रेमप्रकाश खड्का (५१.६७ मिटर) तेस्रो भए। पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण जिते। उनले ६.९१ मिटर हाम्फाले। प्रहरीकाद्वय गोपाल चौधरीले रजत र चन्द्रदेव जोशीले कांस्य हात पारे। सोही स्पर्धाको महिलामा ५.०५ मिटरसाथ प्रहरीकी केशरी चौधरीले स्वर्ण जितिन्। आर्मीकी कृष्णा चौधरी (४.९४ मिटर) दोस्रो तथा एपीएफकी शिला चौधरी (४.८४ मिटर) तेस्रो भए।

पुरुषको ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्की निर्धारित दूरी १५ मिनेट २६.१० सेकेन्डमा पूरा गर्दै स्वर्णका हकदार बने। १२औं सागका कांस्यधारी एवं ओलम्पियन हरिकुमार रिमालले दोस्रो स्थानमा चित्त बुझाए। सातौंको म्याराथनका स्वर्ण विजेता प्रहरीका भूमिराज राई १५ मिनेट ३०.४ सेकेन्डसहित तेस्रो भए। उक्त स्पर्धाको महिलामा एपीएफकी कान्छीमाया कोजु पहिलो भइन्। कान्छीमायाले १८ मिनेट १३.४ सेकेन्ड समय लगाइन्। आर्मीकी सानुमाया कार्की (१८ मिनेट ३३.३९ सेकेन्ड) दोस्रो तथा आर्मीकै विश्वरूपा बुढा (१८ मिनेट ३७.०४ सेकेन्ड) तेस्रो बने।

फुपूले जितिन् स्वर्ण
झापाको धुलाबारीमा आइतबार भएको जुडोअन्तर्गत महिलातर्फ आर्मीकी फुपूल्हामु खत्रीले स्वर्ण जितिन्। १२औं सागकी स्वर्ण विजेता फुपूले महिला ६३ केजीको सबै खेलमा अपराजित रहँदै स्वर्ण जितेकी हुन्। पुलिसकी निशा चौधरीले रजत जितिन्। त्यस्तै ४४ केजीमा मध्यपश्चिमाञ्चलका सोनु भट्टले स्वर्ण जित्दा पश्चिमाञ्चलका सोममाया तामाङ रजतमै चित्त बुझाइन्। ५२ केजी तौलसमूहमा आर्मीकै लीला अधिकारीले स्वर्ण र पुलिसकी दिलकुमारी छन्त्यालले रजत जिते। ७८ केजीमा आर्मीकी पुनम श्रेष्ठले स्वर्ण र पूर्वाञ्चलकी बबिता चौधरीले रजत जितिन्।

पुरुषतर्फ ५० केजी तौल समूहमा आर्मीका तिलकबहादुर देउजाले स्वर्ण र मध्यमाञ्चलका मनोज आचार्यले रजत जिते भने ६० केजी तौलमा आर्मीका सुदीपकुमार बोहराले स्वर्ण हात पारे। ७३ केजी तौलसमूहमा पुलिसका सञ्चित डंगोलले स्वर्ण जित्न मध्यमाञ्चलका रामभक्त तामाङलाई हराए। ९० केजी तौलसमूहमा पुलिसका श्रीराम माकाजुले स्वर्ण र मध्यमाञ्चलका सञ्जय महर्जनले रजत तथा १ सय केजीमा पुलिसका राजन जोशीले स्वर्ण जितेका थिए।

प्रतिक्रिया दिनुहोस्