जलविद्युत् आयोजना शुरू गर्न निर्देशन



काठमाडौं, (नेस)
व्यवस्थापिका–संसद अर्थ समितिले नेपाली नागरिकले लगानी गर्न सक्ने गरी एउटा महत्त्वपूर्ण जलविद्युत्् आयोजनाको निर्माण शुरू गर्न लगानी बोर्डलाई निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले बोर्डलाई सो निर्देशन दिएको हो।

बैंकले माथिल्लो कर्णाली, अरूण तेस्रोजस्ता आयोजनामा देखिएको जग्गा प्राप्तिको समस्या समाधान गर्न पनि सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको छ। अरूण तेस्रोले निर्माण शुरु गर्ने वचन दिएको र वित्तीय व्यवस्थापन गर्ने सम्बन्धमा समेत जानकारी गराइसकेका सन्दर्भमा बोर्डको बैठक बसेर आवश्यक निर्णय लिन समितिले सरकारलाई निर्देशन दिएको हो। आइतबार बसेको बैठकमा सांसदले लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको भन्दै आपत्ति जनाएका छन्।

ठूला जलविद्युत् आयोजना एवम् भौतिक पूर्वाधारको विकासका लागि बोर्ड स्थापना गरिए पनि पछिल्ला दिनमा बोर्ड सुस्ताएको संसादहरूको आरोप थियो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समग्र विषयमा छलफल हुने र ठूला आयोजनामा परेको जटिलता फुकाइने बताउनुभयो। उहाँले राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीले समेत नियमित अनुगमन गरिरहनुभएको र आयोगका सबै सदस्यसमेत नियमित अनुगमनमा लाग्नुभएको जानकारी दिनुभयो।

त्यस्तै बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले समग्र तयारी गर्न समय लागेका कारण लामो सयमसम्म बोर्डको बैठक बस्न नसकिएको जानकारी दिँदै भन्नुभयो–‘अरूण तेस्रोको काम प्रभावकारी रूपमा अगाडि बढेको र उसलाई वित्तीय व्यवस्था गर्न समस्या नरहे पनि माथिल्लो कर्णालीका सम्बन्धमा भने अझै केही जटिलता रहेको छ।’

प्रतिक्रिया दिनुहोस्