माथिल्लो मस्र्याङ्दी ‘ए’ द्वारा पूर्ण क्षमतामा विद्युत् उत्पादन



नेपाल समाचारपत्र
लमजुङ
जिल्लाको भुलभुलेमा निर्माण सम्पन्न भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन शुरु गरेको छ। गत कात्तिक १९ गते २५ मेगावाट उत्पादन गरेको सो आयोजनाबाट थप २५ मेगावाट विद्युत् उत्पादन गरी पूर्ण क्षमताको उत्पादन शुरु गरेको हो।

पहिलो उत्पादन गरेको एक महिनापछि पूर्ण क्षमताको उत्पादन गरिने भनिए पनि डेढ महिनापछि पूर्ण क्षमताको उत्पादन थालिएको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार तर यतिबेला पानीको बहाव कम हुँदा ४० मेगावाट मात्र उत्पादन भएको छ।

उत्पादित विद्युत् एक सातापछि नेपाल विद्युत् प्राधिकरणको ‘मिटरिङ युनिट’ मा जडान गरिने छ। प्राधिकरणको नियमअनुसार एक सातासम्म निःशुल्क विद्युत् दिइने आयोजनाका जनसम्पर्क अधिकृत अधिकारीले बताउनुभयो। तर, पूरै क्षमतामा विद्युत् उत्पादन गर्न पानीको अभाव हुन गएको छ। मस्र्याङ्दीमा फागुन महिनाको अन्तिम सातादेखि हिउँ पग्लिन थालेपछि पानीको बहाव बढ्ने र पूर्ण क्षमताको उत्पादन हुनेछ। सो आयोजनामा २५⁄२५ मेगावाट क्षमताको दुई वटा टवाईन जडान गरिको अधिकारीले बताउनुभयो।

प्राधिकरणले आफ्नो आवश्यकताअनुसार विद्युत् माग्ने भएकाले पानी हेरेर विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ। गत कात्तिकमै आयोजना सम्पन्न भए पनि प्रसारणलाइन निर्माणमा ढिलाई हँुदा पूरै क्षमता उत्पादन हुन सकेको थिएन। आयोजनाले भूलभूलेदेखि मध्य मस्र्याङ्दीसम्मको २० किलोमिटर लामो १३२ केभीएको प्रसारणलाइन आफैंले बनाएको थियो।

मध्यमस्र्याङ्दीबाट अन्यन्त्र जाने प्रसारणलाइन निर्माणमा ढिलाई हुँदा प्राधिकरणले केही समय पूर्ण क्षमताको उत्पादनमा अनुमति दिएको थिएन। माथिल्लो मस्र्याङ्दी–‘ए’ बाट उत्पादित विद्युत् ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको ‘स्विच’ मा जडान गरिएको छ। अहिले मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन घटेकाले माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट उत्पादित विद्युत् पठाउन सहज भएको आयोजनाले बताइएको छ।

सन् २०१३ को जनवरीदेखि शुरु गरिएको उक्त आयोजनाको बाहुनडाँडा र भुलभुलेको सीमा ङादी दोभानमा बाँध बनाइएको छ। ५ दशमलव ३ किमि सुरुङ निर्माण गरी भुलभूले– ३ को मस्र्याङ्दी किनारमा निर्मित विद्युत् गृहबाट विद्युत उत्पादन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्