सिरियातर्फ उडेको रूसी सैनिक विमान दुर्घटनाग्रस्त



मस्को, (एजेन्सी) रूसी रक्षा मन्त्रालयले आइतबार ९२ जना व्यक्ति सवार एउटा रूसी सैनिक विमान ब्ल्याकसीमा दुर्घटनाग्रस्त भएको जनाएको छ। सोची रिसोर्टबाट स्थानीय समयअनुसार बिहान ५ बजेर २५ मिनेट जाँदा उडेको सो विमान २ मिनेटपछि नै रडारबाट बेपत्ता भएको थियो। सिरियाको लाताकियातर्फ उड्दै गरेको सो विमानको भग्नावशेष र केही शव फेला परिसकेको छ।
टुपोलेभ (टीयू) –१५४ विमानमा सैनिक, पत्रकार र रूसी फौजका लागि विशेष कार्यक्रम प्रस्तुत गर्ने चर्चित सैनिक संगीत टोली अलेक्ज्यान्ड्रोभ एन्सेन्वलेका ६४ जना सदस्य रहेका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रव्यापी शोक मनाइने घोषणा गरिसकेका छन्।

शुरूमा राजधानी मस्कोबाट उडेको सो विमानलाई इन्धन भर्नका लागि सोचीको एडलर विमानस्थलमा अवतरण गरिएको थियो। रक्षा मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा जनाइएको छ– ‘टीयू–१५४ विमानका टुक्राटाक्री सोची शहरको ब्ल्याकसीको तटदेखि साढे एक किमि पर सागरको ५० देखि ७० मिटर गहिराइमा फेला परेका छन्।’ सो मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेनकोले कोही पनि जीवित फेला नपरेको जानकारी दिएका छन्।

अलेक्ज्यान्ड्रोभ एन्सेन्वले सन् १९२८ अर्थात् सोभियत संघ कालमा स्थापना भएको रूसी सशस्त्र फौजको आधिकारिक सामूहिक गायन टोली हो। यस टोलिमा आकेस्ट्रा र नर्तकहरू पनि सम्मिलित छन्।

यस टोलीका पहिलो निर्देशक अलेक्ज्यान्डर भासिलिएभिच अलेक्ज्यान्ड्रोभको नामबाट यसको नामकरण भएको हो। उनले सोभियत संघको राष्ट्रिय गीतमा संगीत भरेका थिए। रेड आर्मी कोयरको नाम धारण गर्ने अधिकारसमेत भएका यस टोलीलाई गृह मन्त्रालयले एभीडी एन्सेन्वले पनि भन्ने गरेको छ।

रूसी सञ्चारमाध्यमले सार्वजनिक गरेको सो विमान र एयर ट्राफिक कन्ट्रोलरहरूबीच भएको भनिएको अन्तिम वार्ताले चालक दलले त्यस्तो कुनै समस्या भोग्नुपरेको संकेत नदिएको देखाएको छ। विमान बेपत्ता हुँदासम्म चालक दलका सदस्यहरूको आवाज शान्त र संयमित सुनिन्थ्यो।

त्यसपछि कन्ट्रोलरहरूले विमानसँग सम्पर्क स्थापित गर्ने असफल प्रयास गरेका थिए। उडानका लागि सो क्षेत्रको मौसम पनि अनुकूल रहेको बताइएको छ। जनरल कोनासेन्कोले पछिल्लो पटक गत सेप्टेम्वरमा मर्मत गरिएको यस विमानको विस्तृत मर्मत सन् २०१४ को डिसेम्बरमा पनि गरिएको र पाइलट निकै अनुभवी रहेको बताएका छन्। पुटिनले एउटा राष्ट्रिय आयोगलाई दुर्घटनाको गम्भीर छानविन गर्न आदेश दिँदै मृतकका परिवार र साथीभाइहरूलाई समवेदना प्रकट गरेका छन्।

सो विमानमा संगीत टोलीका निर्देशक भ्यालेरी खालिलोभलगायत नौ जना पत्रकार, आठ जना सैनिक र दुई जना सरकारी कर्मचारी र आठ जना चालक दलका सदस्य रहेको बताइएको छ। सो विमानमा फेयर एड च्यारिटीका कार्यकारिणी निर्देशक एलिजावेता ग्लिन्का उर्फ डा. लिजा पनि सवार रहेकी थिइन्।

उनले मानवअधिकार क्षेत्रमा गरेको उत्कृष्ट सेवाका लागि रसियाको राष्ट्रिय पुरस्कार जितेकी थिइन्। अलेक्ज्यान्डोभ एन्सेन्वलेको लाताकियास्थित रसियाको मेइमिम हवाई अखडा नजिक नयाँ वर्षको उपलक्ष्यमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने योजना थियो। रसियाले सिरियाली राष्ट्रपति बसार अल असादविरुद्ध संघर्षरत लडाकूसँग युद्धरत सिरियाली फौजलाई हवाई हमलामार्फत् सहयोग पुर्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्