एपीएफको लगातार दोस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं ।
शसस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

आईतबार बिराटनगरको बैजनाथपुरस्थित मैदानमा एपीएफले सुदुरपश्चिम विकास क्षेत्रलाई १ सय ४४ रनले हरायो । राकिलो जित हात पारेको एपीएफले २ सय १ रनको लक्ष्य दिएको थियो । जसमा सुदुरपश्चिम टोलीले निर्धारित २० ओभर खेलेपनि ६ विकेटको नोक्सानीमा ५६ रनमै रोकियो । टोलीका लागि दीपक मल्लले उच्चतम २१ रन जोडे । विभागिय टोलीका बलरमा बसन्त रेग्मीले ३ ओभरमा १० रन दिई ३ विकेट लिएका थिए ।

यसअघि टस जिति ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षेतिमा २ सय रनको विशाल योगफल बनाएको थियो । टोलीका लागि कप्तान पारस खड्काले सानदार १ सय ५ रन जोडे । उनले मात्र ४३ बलमा ९ चौका र ८ छक्का प्रहार गरेर सतक बनाउँदै नटआउट रहे । जबकी उनले पहिलो ५० रन २६ बलमा बनाए भने अर्को ५० रन ४१ बलमा बनाए । उनीपछि सुवास खकुरेलले ६४ रनको अर्धसतकीय इनिङ खेले ।

पारस र सुवासले पाँचौ विकेटको लागि ७३ बलमा १ सय ५१ रनको सतकीय साझेदारी गरेका थिए । चार विकेट पतन भएकोमा सुदुरका दिनेश अग्रीले तीन विकेट लिएका थिए । आसिफ शेख २ रन, सन्दीप सुनार र प्रदीप ऐरी ४÷४ रनमा अग्रीले आउट गरेका थिए । ज्ञानेन्द्र मल्ल भने ८ रन बनाएर रनआउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्