पर्यटकीय महत्वको रामघाट क्षेत्र ओझेलमा



रामपुर(पाल्पा), १० पुस । पौराणिक कथासँग गाँसिएको रामघाट क्षेत्रको पर्यटकीय विकासमा चासो नदिंदा त्यसको महत्व नै ओझेलमा परेको छ ।

रामपुर नगरपालिका– ८ स्थित कालीगण्डकी नदीको किनारमा अवस्थित रामघाट क्षेत्रमा पर्यटकीय विकासको संभावना रहेपनि प्रचारप्रसारको अभावमा यसको महत्व नै गुम्दै गएको हो ।

पौराणिककालमा भगवान् रामले वनबास जाँदा बास बसी दिनहुँ नुहाएर पाठ–पूजा गरेकाले यस घाटको नाम रामघाट रहन गएको र यहाँ ऋषिहरुले यज्ञ गरेको धार्मिक किम्बदन्ती छ ।

विसं १८७० को समयतिर सोही स्थानमा बसोवास गर्नुभएका स्थानीय तुलसीराम रेग्मीलाई राति सपनामा भगवान रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजा गर्न निर्देश गरेपछि विसं १८८९ मा लक्ष्मीनारायण मन्दिर स्थापना गरिएको हो । सो मन्दिर स्थापना गरेपछि रेग्मी परिवारको निगरानीमा नियमित पूजा हँुदै आएको छ ।

पौराणिक महत्व बोकेको यस क्षेत्रमा टाढाटाढाबाट दर्शन तथा अवलोकन गर्नेको ठूलो भिड लागेपनि पछिल्लो समय भने यसको महत्व ओझेलमा पर्दै गएको स्थानीयवासी ओमप्रकाश रेग्मी जानकारी दिनुभयो ।

रामघाट क्षेत्रको महत्व र विकासलाई अगाडि बढाउन यहाँका स्थानीयवासीको सक्रियतामा लक्ष्मीनारायण मन्दिर जीर्णोद्वारका साथै धर्मशाला, पूजारी कोठा, मन्दिर प्रवेशद्वार खानेपानी ट्याङ्की, सत्तल र चौतारी निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताउनुभयो ।

बाटोको समस्याले पनि यसको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व ओझेलमा पर्दै गएको उहाँको भनाइ छ ।

पर्यटकीय आकर्षण बढाउन यहाँ विभिन्न जातका आँप, लिची, कटहर ,फलफूलका बिरुवा पनि रोपिएको छ ।
यस क्षेत्रलाई रामपुर नगरपालिकाले १० औँ पर्यटकीय क्षेत्रको रुपमा समेटेको र गतवर्ष रुपैयाँ एक लाख ५० हजार खानेपानी निर्माणका लागि उपलब्ध गराएको नगरपालिकाका कार्यकारी अधिकृत थानेश्वर पराजुलीले बताउनुभयो ।

अर्थ मन्त्रालयबाट रु दुई लाख, विभिन्न व्यक्ति तथा समूहबाट रुपैयाँ एक लाख ५० हजार रकम सहयोग प्राप्त भएको थियो ।

यस क्षेत्रमा रामगुफासहित सातवटा गुफा छन् । झन्डै एक सय रोपनी क्षेत्रफलमा फैलिएको रामघाट क्षेत्रको भौतिक पूर्वाधारको व्यवस्था र यहाँसम्म पुग्ने मोटरबाटो बनाउन सके पर्यटकीय गन्तव्यको आकर्षणस्थल बन्ने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्