झापामा ३८ वर्षपछि बक्सिंग



(कविरस शर्मा, भद्रपुर)

सातौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बक्सिंग खेलका लागि भद्रपुरस्थित मेची रंगशाला दुलही झैं तयार पारिएको छ। भद्रपुर नगरपालिकामा रहेको मेची रंगशालामा ३८ वर्षपछि बक्सिंग खेल खेलाइएको छ। उक्त रंगशालामा यसअघि २०३५ सालमा राष्ट्रिय बक्सिंग प्रतियोगिता भएको थियो। सातौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत सो रंगशालामा एक मात्र खेल बक्सिंग खेलाइँदै छ। शनिबार राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यमा बक्सिंग खेलको उद्घाटन भएको छ।

प्रतियोगिताका लागि रंगशालालाई झकिझकाउ पारिएको छ। सो खेलमा सहभागिता जनाउन पाँचवटा विकास क्षेत्र र तीनवटा विभागीय टोलीका खेलाडी र प्रशिक्षकसहित करीब २ सय जना झापा आएका छन्। प्रतियोगिता सञ्चालन अघि पूर्वाधार निर्माणका लागि राष्ट्रिय खेलकूद परिषद्ले ६८ लाख खर्च गरेको जिल्ला खेलकूद विकास समिति झापाका शंकर थापाले बताए। रंगशाला रंग रोगनका लागि भद्रपुर नगरपालिकाले जिम्मा लिएको हो।उक्त कार्यका लागि नगरपालिकाले ३ लाख ५० हजारभन्दा बढी सहयोग गरेको छ।

समितिका अध्यक्ष थापाका अनुसार शनिबारदेखि नै जिल्लाको कांकरभिट्टामा ब्याडमिन्टन, धुलाबारीमा जिम्नयास्टिक र जुडो तथा दमकमा आईटीएफ तेक्वान्दो खेल शुरू भएको बताए। चारवटै खेलका लागि करीब ५ सय ५० भन्दा खेलाडीहरू प्रतियोगिता स्थलमा पुगिसकेका छन्।

पहिलोपटक राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न पाउँदा यहाँका खेलप्रेमीहरू निक्कै उत्साहित देखिएका छन्। पाँच वर्षअघि सुदूरपश्चिमले राष्ट्रिय प्रतियोगिताको छैठौं संस्करण आयोजना गरेको थियो। त्यसको दुई वर्षपश्चात नै पूर्वाञ्चलले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको थियो। तर अन्यौल सिर्जना भएपछि तीनपटकसम्म खेल तालिका सरेको थियो। प्रतियोगिता हुने एक दिन अगाडिसम्म पनि पूर्वाञ्चलका खेलप्रेमीहरू विश्वस्त हुन सकेका थिएनन्। पूर्वाधार निर्माण लागि रकम अभाव हुँदा प्रतियोगिता हुनेमा शंका थियो। ‘तीनपटकसम्म प्रतियोगिताको समय परिवर्तन भयो’ –जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारीले भने ।विराटनगरमा राष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गरेपछि मात्रै आयोजना हुनेमा हामी ढुक्क भयौं। विभिन्न पूर्वाधार अधुरै रहेको अवस्थामा प्रतियोगिता आयोजना गर्न लागिएको उपाध्यक्षले बताए।

प्रदिप सेमिफाइनलमा
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत मेची रंगशालामा भएको ५२ केजीको भिडन्तमा मध्यमाञ्चलका प्रदिप महर्जन सेमिफाइनलमा प्रवेश गरेका छन्। पूर्वाञ्चलका सन्तोष राईलाई टेक्निकल नकआउटका आधारमा हराउँदै प्रदिपले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। ५२ केजीअन्तर्गत कै अर्को खेलमा एपीएफका विक्रम परियार र पश्चिमाञ्चलका चिरञ्जीवी राणा विजयी भएका छन्। यस्तै गरी ५६ केजी तौल समूहमा मध्यमाञ्चलका गणेश थापाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे। उनले सुदूरपश्चिमका राजेश चन्दलाई अंकका आधारमा पराजित गरे। यस्तै ४९ केजीको भिडन्तमा मध्यपश्चिमका चन्द्र थापा, नेपाली सेनाका सुभाष विक र एपीएफ क्लबका आस तामांगले जित हासिल गरेका छन्। ५६ केजीको अर्को खेलमा एपीएफका पूरन राईले नेपाल प्रहरीका गिरबहादुर राना मगरलाई हराएका छन्।

प्रतिक्रिया दिनुहोस्