घर–जग्गा रजिष्ट्रेशन पास काठमाडौंमा धेरै



नेपाल समाचारपत्र
काठमाडौं
समग्र घर–जग्गा रजिष्ट्रेशन संख्यामा समीक्षा वर्षमा ३ दशमलव ६ प्रतिशतको वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले ४७ जिल्लाको समग्र आर्थिक गतिविधि र स्थलगत अध्ययनका आधारमा तयार पारिएको प्रतिवेदनअनुसार गत वर्ष सो संख्यामा ५ दशमलव २ प्रतिशतले ह्रास आएको थियो। यस अवधिमा घर–जग्गा रजिष्ट्रेशन वापतको राजस्व ४० प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड रुपियाँ संकलन भएको छ। गत वर्ष यस्तो राजस्व ४५ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा घर⁄भवन नक्सा पास संख्यामा ४१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यस्तो संख्यामा ६ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। समीक्षा वर्षमा घर–जग्गा रजिष्ट्रेशन संख्यालाई क्षेत्रगत रूपमा विश्लेषण गर्दा काठमाडौं क्षेत्रमा ४४ दशमलव १ प्रतिशत, वीरगन्ज ८ दशमलव १ प्रतिशत, पोखरा क्षेत्रमा ४ दशमलव ७ प्रतिशत, नेपालगन्ज क्षेत्रमा २ दशमलव २ प्रतिशत र धनगढी क्षेत्रमा १० दशमलव ३ प्रतिशतले वृद्धि भएको छ भने विराटनगर क्षेत्रमा ८ दशमलव ८ प्रतिशत, जनकपुर क्षेत्रमा १७ दशमलव ४ प्रतिशत र सिद्धार्थनगर क्षेत्रमा शून्य दशमलव ७ प्रतिशतले ह्रास आएको छ।

त्यसैगरी घर–जग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन जनकपुर क्षेत्रमा बाहेक अन्य सबै क्षेत्रमा वृद्धि भएको छ। जसमध्ये वीरगन्ज क्षेत्रमा सबैभन्दा बढी अर्थात् ७५ दशमलव ५ प्रतिशत र धनगढी क्षेत्रमा सबैभन्दा कम अर्थात् १६ दशमलव ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

क्षेत्रगत रूपमा समीक्षा वर्षमा पोखरा र जनकपुर क्षेत्रमाघर⁄भवन नक्सा पास संख्यामा ह्रास आएको छ भने अन्य सबै क्षेत्रमा यस्तो संख्यामा वृद्धि भएको छ। राष्ट्र बैंकले काठमाडौं क्षेत्रअन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा र दोलखा विराटनगर क्षेत्रअन्तर्गत इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा र सप्तरी जनकपुर क्षेत्रअन्तर्गत सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र उदयपुर वीरगन्ज क्षेत्रअन्तर्गत बारा, पर्सा, मकवानपुर, रौतहट र चितवन पोखरा क्षेत्रअन्तर्गत कास्की, स्याङ्जा, गोर्खा, तनहुँ, लमजुङ, बाग्लुङ, पर्वत र म्याग्दी सिद्धार्थनगर क्षेत्रअन्तर्गत रूपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पा नेपालगन्ज क्षेत्रअन्तर्गत बाँके, बर्दिया, दाङ र सुर्खेत तथा धनगढी क्षेत्रअन्तर्गत कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी जिल्लामा अध्ययन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्