सातौं राष्ट्रिय खेलकुद शुरू



शशांक पौडेल, विराटनगर
शुक्रबारबाट औपचारिक रूपमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आरम्भ भएको छ। विराटनगरमा एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो। प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकासमा राज्यको ध्यान जानुपर्ने बताउनुभयो।

विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा खेलकुदलाई समेट्नुपर्ने समेत राष्ट्रपतिको भनाइ थियो। बजेट अभाव र पूर्वाधार अभावमा पनि क्रिकेट तथा फुटबल क्षेत्रमा नेपालले पाएको सफलताले सबै नेपालीलाई खुसी तुल्याएको भन्दै प्रशंसा गर्नुभयो।

राष्ट्रपति भण्डारीले खेलकुदले व्यक्ति, समाज र राष्ट्रकै समष्टिगत विकासका लागि भूमिका खेलिरहेको भन्नु हँुदै खेलकुदको समुचित विकास र प्रोत्साहनका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले खेलकुद विश्वविद्यालयको स्थापना गर्ने तयारी सरकारले गरेको बताउनुभयो।

उहाँले खेलाडीको जीवन बीमा र भत्ता दिने प्रक्रिया अघि बढाइएको दाबी गर्नुभयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरा, काठमाडौं र विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रंगाशाला र सबै प्रदेशमा प्रदेशस्तरीय रंगाशाला निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक पूर्वाधारको अभाव, बजेट अभाव तथा उचित प्रशिक्षणबिना नै नेपाली खेलडीहरूले उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो।

यता केही आयोजक समितिकै पदाधिकारीहरूले औपचारिक उद्घाटन कार्यक्रममै राष्ट्रपतिको अगाडि कानुनी राज्यको उपहास गरेको भन्दै विरोध गरेका छन्। सर्वाेच्च अदालतले गरेको निर्णयको बेवास्ता गर्दै ओलम्पिक कमिटीको अध्यक्षका रूपमा जीवनराम श्रेष्ठलाई आसनग्रहण गराएकामा उनीहरूले विरोध जनाएका हुन्। आयोजक राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालले सर्वाेच्च अदालतले निर्णय गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीलाई गैरकानुनी भन्दै खारेज गर्न आदेश दिएको भए पनि कानुनी राजको उपहास गर्दै राष्ट्रपति उपस्थित कार्यक्रममा आसनग्रहण गराएको टिप्पणी गर्नुभयो। विरोधमा लोकतान्त्रिक खेलकुदका अध्यक्ष देवेन्द्र शेरचन, एन्फाका उपाध्यक्ष किशोर राईलगायतका उत्रिएका थिए।

औपचारिकरूपमा शुक्रबार शुरू भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन पुस १५ गते सुनसरीको धरानमा हुनेछ। औपचारिकरूपमा शुक्रबारबाट खेलकुद प्रतियोगिता शुरु भए पनि बिहीबारबाटै पुरुष फुटबल प्रतियोगिता धरानमा शुरु भइसकेको छ भने महिला फुटबल प्रतियोगिताको फाइनल चरण पुगिसकेको छ।

३५ खेल खेलाइने प्रतियोगिताका ३ खेल भने पूर्वाञ्चलबाहिर हुनेछन्। ललितपुर, काठमाडौं र पोखरामा एक⁄एक खेल हुने आयोजकले जनाएको छ। ३५ खेलहरूमध्ये सुनसरीमा १५, मोरङमा १३, झापामा ५, सिराहा, धनकुटा, उदयपुर, सप्तरी र इलाममा एक–एक खेल हुनेछन्।

सातौं राष्ट्रिय प्रतियोगिताका लागि २ हजार ३ सय ३ जना खेलाडी सहभागी हुँदै छन्। प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कांस्य पदक गरी कुल १ हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ। छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नसमेटिएका खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ खेललाई सातौंमा समावेश गरिएको छ। जसमा ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको हो।

प्रतिक्रिया दिनुहोस्