देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारीमा छौंः प्रम



नेपाल समाचारपत्र
गोरखा
प्रधानमन्त्री पुष्पकमल दाहालले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताउनु भएको छ। शुक्रबार गोरखाको दरौंदी नदीमा निर्मित ६ मेगावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो–‘सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको छ। काठमाडौंमा लोडसेडिङ अन्त्य गरिएको छ। देशैभरी लोडसेडिङ कसरी अन्त्य गर्न सकिन्छ भनेर हामीले गृहकार्य गरिरहेका छौं। हामी छिट्टै देशब्यापी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेका छौं। विश्वास छ, यसमा सरकार सफल हुन्छ।’

व्यवस्थापनमा सुधार गर्दा, चुहावट रोक्दा, इमान्दार भएर काम गर्दा अद्भूत परिणाम आउँदो रहेछ। ठीक मान्छेलाई ठीक जिम्मा दिँदा र लक्ष्यप्रति निष्ठावान् हुँदा चार महिनामै उपत्यकामा लोडसेडिङ अन्त्य गर्न सकियो। नेतृत्वको इच्छाशक्ति भयो, राम्रो व्यवस्थापन भयो र युद्धस्तरमा काम गरियो भने परिणाम उत्साहवद्र्धक आउँछ।’

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले ‘नेपालको पानी, जनताको लगानी’ को अवधारणा अघि सारेको जानकारी दिँदै भन्नुभयो–‘प्रधानमन्त्री ज्यूको निर्देशन बमोजिम सरकारले उज्यालो नेपालको अभियान चलाइरहेको छ। हामीले प्रविधि र चुहावटमा भएको बेथिति कम गरेर काठमाडौंमा लोडसेडिङ अन्त्य गरेका छौं। नयाँ आयोजनाहरूको सञ्चालन, प्राधिकरणका बेथितिको अन्त्यले लोडसेडिङ अन्त्य गर्न सकिन्छ।’ त्यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकार जनप्रिय कामका लागि क्रियाशील रहेको बताउनुभयो।

उद्घाटन कार्यक्रममा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले लोडसेडिङ अन्त्य गरेर सरकारले अर्को लोकप्रियता हासिल गरेको भन्दै कालिका हाइड्रो लोडसेडिङ अन्त्यका लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो। कालिका पावर कम्पनी १ अर्ब ३० करोड रुपियाँको लागतमा आयोजना सम्पन्न गरेको र ग्लोबल आईएमई बैंकले मुख्य ऋण लगानी गरेको कालिका पावर कम्पनीका निर्देशक निकोलस पाण्डेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्