बर्लिन आक्रमणमा संलग्न आमरीको मिलानमा हत्या



मिलान, (एजेन्सी)
जर्मनीको बर्लिन बजारमा लरीबाट आक्रमण गर्ने आशंकित अनिस आमरीलाई इटालीको मिलानमा प्रहरीले गोली हानी हत्या गरेको इटालीको गृहमन्त्री मार्को मिन्निटीले शुक्रबार बताएका छन्। शुक्रबारबिहान सबेरै सेस्टो सान गियोभान्नी क्षेत्रमा नियमित गस्तीमा रहेका एक जना प्रहरीले परिचयपत्र माग्दा आमरीले उनलाई गोली हानेका थिए। उक्त घटनामा घाइते हुन पुगेका एक जना प्रहरी खतरामुक्त रहेको बताइएको छ। सोमबार बर्लिनको क्रिसमस बजारमा भएको आक्रमणमा १२ जनाको ज्यान जानुका साथै अन्य ४९ जना घाइते भएका थिए। मृतकको औंठाछाप आमरीको सँग मिलेको इटालियन सञ्चारमाध्यमले जनाएका छन्।

आमरीको गोलीबाट प्रहरी अधिकृत क्रिस्टियन मोभियोको काँधमा चोट लागेपछि उनको जुनियर लुका स्काटाले जवाफी फायर गर्दा आमरी मारिएका थिए। स्काटा केबल नौ महिनाअघि मात्र प्रहरी सेवामा प्रवेश गरेका थिए। जर्मन अधिकारीहरूले सोमबार साँझ भएको आक्रमणको दौरान प्रयोग भएको लरीमा आमरीको औंठाछाप भेटिएको पुष्टि गरेका छन्।

बर्लिनको पश्चिमा भागमा रहेको कैजर विल्हेल्म मेमोरियल चर्चमा रहेको क्रिसमस बजारमा सो आक्रमण गरिएको थियो। अनुसन्धानकर्ताहरूले मिलानमा आमरीले प्रयोग गरिएको बन्दुक र बर्लिनमा लरी ड्राइभरलाई मार्न प्रयोग गरिएको बन्दुक एउटै हो वा होइन भन्नेबारे छानबिन गरिरहेका छन्। पोल्यान्डका नागरिक ती लरी ड्राइभरको शव छुरा र गोली प्रहार गरिएको अवस्थामा प्यासेन्जर सिटमा भेटिएको थियो।

इटालियन समाचार निकाय आन्सले आमरी ट्रेनबाट फ्रान्स हुँदै टुरिम पुगेको र त्यसपछि अर्को ट्रेन चढेर मिलान पुगेको जनाएको छ। सेन्ट्र स्टेसनबाट सेस्टो सान गियोभानी क्षेत्रमा हिँडिरहेको अवस्थामा उनको प्रहरीसँग जम्काभेट भएके थियो। ट्युनिसियाली नागरिक २४ वर्षीय आमरीले सन् २०११ हुलदंगा र चोरीको आरोपमा इटालीमा कारगार सजाय भोगिसकेको बताइएको छ।

कारागार मुक्त हुना साथ उनी इटाली छाडेर जर्मनी पुगेका थिए। त्यहाँ उनले यसै वर्षको अप्रिलमा शरण लिन आवेदन दिएका थिए। जर्मन संघीय वकिलहरूले बर्लिन आक्रमणमा संलग्न व्यक्तिलाई पक्रिन मद्दत गराउनेलाई १ लाख ४ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्