“पुरानो संरचनामा निर्वाचन असम्भव”



नेपाल समाचारपत्र
लमजुङ
क्षामन्त्री धनीराम पौडेलले पुरानो संरचनामा निर्वाचन गरेर संघीय गणतन्त्र संस्थागत हुन नसक्ने तर्क गर्दै अबको १३ महिनामा तीनै तहको निर्वाचन सक्ने तयारीमा सरकार लागेको बताउनुभएको छ। प्रेस सेन्टर नेपाल लमजुङले सदरमुकाम बेंसीशहरमा गरेको पत्रकार भेटघाटमा उहाँले सो धारणा राख्नुभएको हो।

उहाँले पुरानो संरचनामा स्थानीय निकायको निर्वाचन गर्नै नसकिने बताउँदै जनताले अपेक्षा गरेको सेवा र अधिकारसहितको स्थानीय संरचना अहिलेको संविधानले व्यवस्था गरेको बताउनुभयो। उहाँले केही राजनीतिक दलका नेताहरूले संघीयताको विरोधमा बोलेर संविधानको भावनाविपरीत धारणा राखेको आरोप लगाउनुभयो। उहाँले संघीयता माओवादीको मात्र नभएर सबै पार्टीको साझा एजेन्डा भएको बताउनुभयो। उहाँले अब हुने निर्वाचनबाट गाविसको अध्यक्ष बनाउने भन्दा पनि अधिकार र सेवा स्थानीय तहमा पुर्याउन आवश्यक रहेको बताउनुभयो।

अहिले सरकार निर्वाचनका लागि छिटोभन्दा छिटो कानुनहरू बनाउन आवश्यक रहेको बताउँदै यसका लागि स्थानीय तह निर्धारण, संविधान संशोधन र लोकमान कार्कीको महाअभियोग प्रस्तावलाई प्याकेजमा टुङ्ग्याउनेतर्फ सरकार लागेको बताउनुभयो।

अर्को एक प्रसंगमा नेपालको समग्र शिक्षा प्रणालीलाई निर्दिष्ट गर्ने गरी नीति बनाउन राष्ट्रिय शिक्षा आयोग गठनको तयारीमा रहेको जानकारी दिँदै देशव्यापी रूपमा शिक्षाको सिकाइ उपलब्धि बढाउन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। मन्त्री पौडेलले देशभर शिक्षाको सिकाइ उपलब्धिलाई ५० प्रतिशतले वृद्धि गर्ने गरी काम अघि बढाइएको दाबीसमेत गर्नुभयो।

उहाँले अब जारी हुने नयाँ शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने र भएका विद्यालयमा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिइने बताउनुभयो। हाल मुलुकभर करिब ३३ हजार सामुदायिक विद्यालय छन्।

शिक्षा ऐन (आठौं संशोधन), २०७३ बमोजिम शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधनको अन्तिम तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले सरोकार भएका पक्षको सुझाव लिएर कानुन र अर्थ मन्त्रालयको रायपछि मन्त्रिपरिषद्मा पेस गरिने बताउनुभयो। उहाँले संविधान र संघीयताबमोजिम शिक्षासम्बन्धी कानुन र संरचनामा परिवर्तनका लागि नयाँ शिक्षा ऐनको आवश्यकता औंल्याउँदै अधिकारमा आधारित शिक्षाको व्यवस्थाका लागि आफ्नो ध्यान जाने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री पौडेलले मंगलबार नै जिल्ला शिक्षा कार्यालयको निरीक्षण अनुगमनको साथै प्रगति र समस्याबारे जानकारी लिनुभयो। जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले जिल्लाको शैक्षिक अवस्थाबारे जानकारी गराउनुभएको थियो। भोटेओडारको भक्ति नमुना माविको स्वर्ण महोत्सव उद्घाटनका लागि आउनुभएका मन्त्री पौडेलले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग भेटघाट गरी सरकारको स्प्रिडअनुसार काम गर्न निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्