तीन दशकमा मात्र सात खेलकुद



सातौंका म्याराथन विजेताद्वयः गत वर्ष २०७२ असोज ३० गते विराटनगरमा सम्पन्न ४१औं राष्ट्रिय एथ्लेटिक्सअन्तर्गत म्याराथन दौडका विजेताद्वयः धावक भूमिराज राई र धाविका पुष्पा भण्डारी । यो सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आयोजना गरिएको म्याराथन दौड थियो । जसमा नेपाल प्रहरी क्लबका राईले ४२.१९७ किलोमिटरको दूरी २ घन्टा ३१ मिनेट ०३ सेकेन्डमा पूरा गरेर स्वर्ण जिते । त्यस्तै नेपाल एपीएफ क्लबकी भण्डारीले ३ घन्टा ३२ मिनेट ५१ सेकेन्डको समयमा स्वर्ण जितेकी थिइन् । बैकुण्ठ मानन्धरले १९८७ मा कोलकातामा सम्पन्न दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष म्याराथनमा राखेको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको राष्ट्रिय कीर्तिमान अझै तोडिन सकेको छैन । यो कीर्तिमान दक्षिण एसियालीका धावकले पनि तोड्न सकेका छैनन् । त्यस्तै विश्वरूपा खड्काले सन् २०१३ मा अमेरिकाको सिकागो म्याराथनमा २ घन्टा ५७ मिनेट १० सेकेन्डको राष्ट्रिय कीर्तिमान रचेकी छिन् ।

फिरोज राजोपाध्याय
नेपालमा राष्ट्रिय खेलकुद आयोजना भएको पनि तीन दशक पार गरिसकेको छ । यतिका वर्षमा नेपालले भर्खर सातौंपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै छ । यति लामो समयमा केवल सात प्रतियोगिता हुनु नेपाली खेलकुदका लागि दुर्भाग्य नै भएको भन्न सकिन्छ । जति प्रतियोगिताको संख्या बढ्छ त्यति नै राम्रा राम्रा खेलाडी जन्मन्छन् यसमा शंका छैन । तर प्रतियोगिता नै हुन गाह्रो भइरहने अवस्थाले नेपाली खेलकुदको अवस्था झनै जटिल बन्दै जानेछ ।

धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुद २०६८ सालमा भएको थियो । सातौं र छैटौंबीच झन्डै पाँच वर्षको फरक हुन आएको छ । यो फरक आगामी प्रतियोगितामा हुन नदिने सोच अहिलेदेखि नै बनाउन आवश्यक छ । यो सातौं राष्ट्रिय खेलकुद गत वर्ष नै हुनुपर्ने थियो । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले खेलकुदमा असर गर्दा पनि खेलकुद प्रतियोगिता गर्न नसकिने अवस्था पुगेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए । उनले पटकपटक मिति सर्नुमा पनि केही अप्ठ्यारो वातावरण सिर्जना हुनुलाई पनि दोष दिएका छन् ।

तर ढिलै भए पनि आयोजनालाई निरन्तरता दिइरहेको छ । राष्ट्रिय खेलकुद आयोजनाले गर्दा नै नेपाली खेलाडीमा खेल्नका लागि उत्साह बनेको छ । उनीहरूलाई खेलकुदमै लाग्न पनि घचघच्याइरहेको छ । त्यस्तै नयाँ खेलाडीको पनि जन्म हुने भएकाले पनि यो राष्ट्रिय खेलकुद वर्षैपिच्छे हुनुपर्छ भन्नेहरू पनि देखा परेका छन् ।

पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा काठमाडौंमा आयोजना भएको थियो । दशरथ रंगशालामा भएको प्रतियोगिता ९ दिनसम्म आयोजना भयो । जसमा ७८ स्वर्ण, ७६ रजत र ७२ कास्यका लागि नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना भएको थियो । २०४० सालमा भएको प्रतियोगितामा २५ खेलका लागि १ हजार ९ सय ६८ पुरुष खेलाडी र ५ सय ३९ महिला खेलाडीको सहभागिता थिए ।

यसै गरी तेस्रो राष्ट्रिय खेलकुद २०४२ सालमा वीरगन्जमा आयोजना गरियो । सो प्रतियोगितामा २६ खेल समावेश थिए । जसमा १ सय ४६ स्वर्ण पदक, १ सय ४७ रजत पदक र १ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगितामा २ हजार ३७ पुरुष र ७ सय ३७ महिला खेलाडीको सहभागिता थिए ।

यसपछि नेपालमा केही राजनीतिक अस्थिरता र २०४६ को जनआन्दोलनपछि प्रजातन्त्र आएको बखत थियो । तर २०४७ सालमा प्रजातान्त्रिक अभ्यासमा लागेको नेपालमा खेलकुदको अवसान भएको सबैले महसुस गरियो । नेपालमा प्रधानमन्त्री पटकपटक फेरियो तर राष्ट्रिय खेलकुद गर्ने कसैसँग आँट भएन । बल्ल २०५५ सालमा चौथो राष्ट्रिय खेलकुदको आयोजना गरियो । यसमा जम्मा १२ खेल राखिएको थियो । यसका लागि १ सय ४० स्वर्ण, १ सय ४० रजत र १ सय ८९ कास्य विजेता खेलाडीलाई बाँडिएका थिए ।

चौथो राष्ट्रिय खेलकुद सफलताका साथ आयोजना भए पनि देशमा माओवादी र सरकारबीचको द्वन्द्व, राजदरबार हत्याकाण्डको कारण फेरि खेलकुदलाई नराम्रोसँग प्रभाव पार्यो । करिब दश वर्षपछि राष्ट्रिय खेलकुदको आयोजना भयो । २०६५ सालमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश थिए । काठमाडौंको विभिन्न स्थानमा खेलहरू आयोजना गरिएका थिए । तीन वर्षपछि छैटौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्