बार्सिलोना अन्तिम १६ मा



लन्डन, (एजेन्सी) अर्दा तुरानले ह्याट्रिक गरेपछि बार्सिलोनाले कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो श्रेणीको क्लब हर्लकुलेसलाई ७–० ले हराएको हो। पहिलो लेगमा १–१ गोल बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा भारी गोल अन्तरले जित हात पार्यो। लियोनल मेसी, लुइस स्वारेज र नेयमारलाई विश्राम दिइएको उक्त खेलमा तुरानले तीन गोल प्रहार गरेका थिए।

लुकास डिग्नेले ३७औं मिनेटमा डेडलक तोडेर बार्सिलोनालाई १–० को अग्रता दिलाए। पहिलो हाफ सकिन लाग्दा इभान राकीटिचले पेनाल्टी गोलमार्फत् टोलीको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफमा बार्सिलोना २–० ले अग्रता लिएको थियो। दोस्रो हाफमा पाँच गोल थप्दा तुरानको तीन गोलको योगदान रहे। उनले ५५औं मिनेट, ८६औं र ८९औं मिनेटमा गोल गरेका थिए। राफिन्हा र पाचोले एक–एक गोल थपेका थिए।

अन्य खेलमा सेभियाले तेस्रो श्रेणीको क्लब फोर्मेनटेरालाई ९–१ ले पाखा लगाएर अन्तिम १६ मा पुग्यो। विसाम बेन यडर र लुसियानो भिइटोले ह्याट्रिक गरे भने पाब्ले साराबियाले दुई गोल गरेका थिए। त्यस्तै आइबार, डिपोर्टिभो ला कोरुना, ओसासुना र भ्यालेन्सिया पनि अर्को चरणमा पुगे।

प्रतिक्रिया दिनुहोस्