अश्विन आईसीसीका उत्कृष्ट क्रिकेटर



नयाँदिल्ली, (एजेन्सी)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतका स्पिनर रविचन्द्रन अश्विनलाई वर्षको आईसीसीको विश्व क्रिकेटर भएको घोषणा गरेको छ। त्यस्तै ३० वर्षीय अश्विन सर गार्फिल्ड सोबर्स ट्रफी (वर्ष टेस्ट क्रिकेटर) समेत जितेर सो अवार्ड जित्ने तेस्रो भारतीय क्रिकेटरसमेत बनेका छन्। यसअघि सचिन तेन्दुलकर र राहुल द्रविड आईसीसीका वर्ष क्रिकेटर बनिसकेका छन्। अश्विनले बताए– ‘सचिन तेन्दुलकर र राहुल द्रविडलाई पछइउन पाएकोमा ज्यादै खुसी लागेको छ।’

एकवर्षमा टेस्ट क्रिकेटर र आईसीसी विश्व क्रिकेटर बन्नेमा यसअघि दक्षिण अफ्रिकाका जेकेस कालिस (२००५), श्रीलंकाका कुमार सांगकारा (२०१२), अस्ट्रेलियाका माइकल क्लार्क (२०१३), अस्ट्रेलियाका मिचेल जोन्सन (२०१४) र अस्ट्रेलियाका स्टिभ स्मिथ (२०१५) रहेका छन्।

२०११ मा टेस्ट डेब्यु गरेका अश्विनले यस वर्ष भारतको जितमा ठूलो योगदान दिएका छन्। उनले १२ टेस्ट खेलेकामा यो वर्ष ७२ विकेट लिए। यसै साल उनले भारतका तर्फबाट दुई शतकसहित ६ सय १२ रन बनाएका छन्। उनको ब्याटिङ औसत पनि माथि उठेको छ।

यस वर्ष अश्विनले आठ टेस्टमा पाँच वा त्योभन्दा बढी विकेट लिएका छन्। जब कि तीन टेस्टमा उनले १० वा त्योभन्दा बढी विकेट उनले हात पारे। उनले खेलेको १२ टेस्टमध्ये भारतले ९ मा जित हासिलसमेत गर्यो।

हाल भारतका लागि बलिङ एटइकमा सबैभन्दा भरोसामन्द बलर सावित भएका अश्विनले ४४ टेस्टमा ८२ इनिङमा २ सय ४८ विकेट लिएका छन्। उनको बलिङ औसत २४.९६ रहेको छ। उनले आफ्नो करिअरमा २४ पटक पाँच विकेट लिए भने तीनपटक १० विकेट लिएका छन्। उनले टेस्टमा चार शतक र १० अर्धशतकसमेत प्रहार गरिसकेका छन्।

यस्तै आईसीसीले इंग्ल्यान्डका एलेस्टेर कुकलाई आईसीसी टेस्ट टिम अफ दि इयरको कप्तान घोषणा गरेका छन्। जसमा कुकसँगै इंग्ल्यान्डका जोए रुट, जोनी बेयरस्टो र बेन स्टोक छन् भने अस्ट्रेलियाका डेभिड वार्नर, एडम भोज्स र मिचेल स्टार्क परेका छन्।

यस्तै न्युजिल्यान्डका केन विलियम्सन, भारतका अश्विन, श्रीलंकाका रंगना हेराथ र दक्षिण अफ्रिकाका डेल स्टेन टेस्ट टिम अफ दि इयरमा परेका छन्। आईसीसी एकदिवसीय टिम अफ दि इयरको कप्तानमा भने तेस्रोपटक विराट कोहली परेका छन्। टिममा अस्ट्रेलियाका तीन क्रिकेटर डेभिड वार्नर, मिचेल स्टार्क र मिचेल मार्स छन् भने भारतका कोहलीसँगै रोहित शर्मा र रविन्द्र जडेजा छन्। दक्षिण अफ्रिकाका इमरान ताहिर, कागिसो राबाडा, एबी डिभिलियर्स र विकेट किपर क्विन्टन डि कक परेका छन्। इंग्ल्यान्डका जोस बट्लर परेका छन्।

प्रतिक्रिया दिनुहोस्