लेडिज स्पेसल



धराहराले आज दूरबिन घुमाउँदै गर्दा लगनखेलबाट बूढानीलकण्ठ चल्ने साझा यातायातको एक बसमा टक्क रोकियो । बसमा यात्रारत दुई जना महिला एक आपसमा महिला सिटको विषयमा कुरा गर्दै थिए । उक्त बसमा महिला सिटमा एक पुरुष यात्रु बसिरहेको देखेपछि सायद यस्तो कुरा गरेको भन्ने धराहरालाई लाग्यो । उनीहरू महिला आरक्षणको सिटमा पनि पुरुषहरू बस्दै छन् भनेर कुरा गर्दै थिए ।

एक जनाले फेरि थपिन्– यो सार्वजनिक यातायातमा हामी महिलाहरू साह्रै कष्टकर यात्रा गर्नुपर्छ । अर्कीले हो मिलाइन् । उनीहरू बसमा भीड भएको बेला पुरुष यात्रुहरू महिलाहरूसँग जानीजानी टास्सिन आउँछन् भनेर एक आपसमा गुनासो गर्दै थिए । जुन धराहरालाई खै के खै के जस्तो लाग्यो । उनीहरूको कुरा सुन्दै गरेका पछाडि बसेका यात्रुले बीचैमा बोलीहाले– अब महिलाहरूका लागि पनि छुट्टै बस थप्नुपर्छ जस्तो छ । लेडिज स्पेसल भनेर ।

थप्नु त पर्छन् नि । दुईमध्ये एकले भनिहाले । पछिल्ला दिनमा सार्वजनिक यातायातमा पुरुष यात्रुले महिलामाथि यौनजन्य हिंसा गर्ने गरेको कुरा यदाकदा धराहराले सुनेको हो । साझा यातायातले यत्रो नयाँ बस थपेको छ । एक दुईवटा बसलाई महिला हिंसामुक्त यातायात अर्थात् लेडिज स्पेसल बनाई चलाउनुपर्छ कि? सञ्चालकहरुको सोच के छ कुन्नि?

प्रतिक्रिया दिनुहोस्