ब्राण्ड सद्भावना दुतमा धुर्मुस र सुन्तली



काठमाडौं, (नेस) बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ।

आफ्नो सेवा र व्यवसाय प्रवद्र्धन गर्न बैंकले उहाँहरूलाई सो पदमा नियुक्ती गरेको बताइएको छ। बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

नव नियुक्त ब्राण्ड एम्बेसेडरहरूले टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमबाट एकीकृत रुपमा बैंकको प्रवद्र्धन गर्ने बताइएको छ। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कलाकारद्वयसँगको सहकार्यले बैंकलाई दीर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

बैंकको सेवा र क्षेत्र विस्तार हुँदै गएको र सर्वसाधारणमा बढी मात्रामा वित्तीय पँहुच पुर्याउने उद्देश्यले कलाकारिताको माध्यमबाट पनि योगदान गर्न प्रसिद्ध हास्यकलाकारद्वयलाई सहयोगीको रुपमा नियुक्त गरिएको हो।

दुर्गम क्षेत्र, ग्रामीण क्षेत्र एवं नगरोन्मुख ग्रामीण क्षेत्रलाई परिलक्षित गरी वित्तीय साक्षरता, शाखा विस्तार सहित सम्पूर्ण बैंकिङ सेवाहरूलाई यस बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्